उपभोक्ता हित संरक्षण मञ्च नेपालले पछिल्ला दिनहरूमा वीरगंजसहित देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको बजार अनुगमन तथा खाद्य स्वच्छतासम्बन्धी गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मञ्चले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उपभोक्तामा सचेतना वृद्धि गर्ने उद्देश्यले सञ्चारमाध्यमहरूले निरन्तर रूपमा समाचार सम्प्रेषण गरिरहेकोप्रति धन्यवाद व्यक्त गरेको छ । साथै खाद्य स्वच्छता र गुणस्तर कायम गराउने मुख्य जिम्मेवारी सम्बन्धित सरकारी निकायको भएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा स्वस्थ र गुणस्तरीय खाद्यवस्तु प्राप्त गर्नु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै खाद्यवस्तुको उत्पादन, बजार अनुगमन तथा गुणस्तर परीक्षण गर्ने जिम्मेवारी खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय जनकपुर तथा मातहतका कार्यालयहरूको भएको जनाइएको छ ।
मञ्चले बजारमा गुणस्तरहीन तथा मापदण्डविपरीतका वस्तु बिक्री–वितरण भइरहेको अवस्थामा सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन हुन आवश्यक रहेको जनाएको छ । उपभोक्ता सचेतना कार्यक्रम विस्तार हुँदै जाँदा बजारमा पारदर्शिता र जवाफदेहितासमेत बढ्ने विश्वास मञ्चले व्यक्त गरेको छ ।
त्यसैगरी, खाद्य स्वच्छता तथा गुणस्तर कायम राख्न सम्बन्धित सरकारी कार्यालयहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा मञ्चले जोड दिएको छ ।
विज्ञप्तिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा सञ्चालन हुँदै आएको “मोबाइल ल्याब भ्यान” कार्यक्रम मधेश प्रदेशका आठवटै जिल्लामा कम्तीमा १० देखि १२ दिनसम्म सञ्चालन गर्न माग गरिएको छ । यसबाट खाद्य स्वच्छता कायम गर्न थप सहयोग पुग्ने मञ्चको विश्वास छ ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष सुनील कुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उपभोक्ताको स्वास्थ्य तथा अधिकार संरक्षणका लागि बजार अनुगमनलाई अझ प्रभावकारी बनाउन सरोकारवाला निकायसँग आग्रह गरिएको छ ।