रौतहट । रौतहटमा नगदेबालीका रूपमा उत्पादन हुँदै आएको मकैको मूल्य घटेपछि किसानहरू चिन्तित बनेका छन् । एकातिर उत्पादनको उचित मूल्य नपाउँदा किसान निराश बनेका छन् भने अर्कातिर बेमौसमी हावाहुरी र वर्षाले मकै बिग्रिने डरले उनीहरू थप समस्यामा परेका छन् ।
जिल्लाका विभिन्न गाउँमा किसानहरू प्रतिक्विन्टल मकै २ हजार २ सयदेखि २ हजार ३ सय रुपैयाँसम्ममा बिक्री गर्न बाध्य भएका छन् । उत्पादन लागत निरन्तर बढिरहेका बेला बजार मूल्य घट्दा किसानहरू आर्थिक रूपमा मारमा परेको बताएका छन् ।
किसानहरूका अनुसार इन्धनको मूल्य वृद्धि भएपछि खेत जोत्नेदेखि मलखाद, बीउ, सिँचाइ तथा ढुवानीसम्मको खर्च अत्यधिक बढेको छ । तर, सोअनुसार मकैको बजार मूल्य नबढ्दा लगानीसमेत उठाउन समस्या भइरहेको उनीहरूको गुनासो छ ।
“खेती गर्न खर्च धेरै लाग्छ, तर मकै बेच्दा लागतसमेत उठाउन मुस्किल भइरहेको छ,” एक किसानले दुखेसो पोख्दै भने, “माथिबाट पानी र हावाहुरीले खेतमै मकै बिग्रिने डर छ ।”
रौतहटमा ठूलो परिमाणमा मकै खेती हुने गरेको छ । यहाँ उत्पादन हुने मकै पशुचौपाया दाना उद्योग तथा विभिन्न बजारमा बिक्री हुँदै आएको छ । तर, यस वर्ष मूल्य घटेपछि किसानहरू निराश बनेका छन् ।
किसानहरूले सरकारले न्यूनतम समर्थन मूल्य निर्धारण गरी बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने माग गरेका छन् । साथै बेमौसमी वर्षा तथा प्राकृतिक विपद्बाट हुने क्षतिका लागि राहत तथा कृषि बीमालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता समेत औँल्याएका छन् ।
कृषि क्षेत्रमा बढ्दो लागत र घट्दो आम्दानीका कारण धेरै किसान खेतीप्रति निरुत्साहित हुँदै गएको स्थानीयहरूको भनाइ छ ।