महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–१२ पडरिया स्थित पर्ती टोलमा इनार खन्ने क्रममा एक श्रमिक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ श्रीनगर निवासी २२ वर्षीय बसन्तकुमार महतोको आइतबार निस्सासिएर मृत्यु भएको हो । इनार खन्ने क्रममा करिब ३६ फिट तल काठको ठूटो फेला परेपछि विद्युतीय आरा (चेनस) मेसिनले काठ काट्ने क्रममा महतो इनारभित्रै बेहोस भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
अचेत अवस्थामा रहेका महतोलाई तत्काल उद्धार गरी उपचारका लागि ईश्वरपुर नगर अस्पताल, बयलबास (सर्लाही) पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
स्थानीय रमेशसिंह कुशवाहाका अनुसार गौशाला नगरपालिकाबाट बजेट निकासा भई वडास्तरीय ठेक्का प्रक्रियामार्फत पडरियामा कृषि सिँचाइका लागि इनार खन्ने काम भइरहेको थियो । महतो सोही योजनाअन्तर्गत दैनिक ज्यालादारीमा काम गर्दै आएका थिए ।