रौतहटको चन्द्रपुर नगरपालिका–६ डावरीटोलबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूको साथबाट ५४ हजार रुपैयाँभन्दा बढी नगद समेत बरामद भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डीएसपी रुपा लाबुङलाई प्राप्त गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिहीबार साँझ चेकजाँचका क्रममा चन्द्रपुर–६ निवासी २६ वर्षीय निराशकुमार सापकोटालाई नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार सापकोटाको शरीर तथा उनले बोकेको पर्स खानतलासी गर्दा कालो प्लास्टिकमा प्याक गरिएको ०.०८० ग्राम ब्राउन सुगर फेला परेको थियो । साथै उनको साथबाट ३२ हजार २९० रुपैयाँ नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उक्त लागुऔषध सापकोटालाई बिक्री गरेको आशंकामा चन्द्रपुर–६ शान्तिनगर टोल निवासी ३० वर्षीय विकास न्यौपानेलाई पनि पक्राउ गरिएको छ । न्यौपानेको साथबाट २२ हजार ३९० रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको र उनीहरूलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको डीएसपी गौतमले जानकारी दिए ।