महोत्तरी । महोत्तरीको चुरे काछ क्षेत्रका बस्तीहरूमा पछिल्लो समय बाघको आतङ्क बढ्दै गएको छ । जिल्लाको चुरे क्षेत्रअन्तर्गत पर्ने बर्दिबास नगरपालिकाका विभिन्न बस्तीमा बाघले घरपालुवा पशु मार्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।
गत आइतबार बर्दिबास–५ टुटेश्वर सिरानस्थित वरडाँडा बस्तीमा गोठमा पसेर गाईवस्तु मारेको बाघ अहिले नगरको पूर्वी क्षेत्रस्थित बस्तीमा पुगेको स्थानीयले बताएका छन् । पछिल्ला दिनमा बोका, बाख्रा, सुँगुर तथा गाईगोरु मार्ने वन्यजन्तु पाटेबाघ रहेको शुक्रबार राति पुष्टि भएको हो ।
बर्दिबास–३ का वडाध्यक्ष विराट विष्टका अनुसार लगातार चार दिनदेखि रातु नदीको पश्चिमतर्फ पर्ने पाटु डाँडामा बोका, बाख्रा र सुँगुर मारिँदै आएका थिए । शुक्रबार राति गाउँलेहरूले पहरा दिँदा डमरुसहितको पाटेबाघ देखिएको उनले बताए ।
कारेभोगटे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रमेश पौडेल खत्रीका अनुसार शुक्रबार साँझदेखि गाउँलेहरूले पहरा दिँदा बच्चासहितको बाघ देखिएको थियो । स्थानीयले राँको बालेर र टिन ठटाएर होहल्ला गरेपछि बाघ नजिकैको जङ्गलतर्फ फर्किएको उनले जानकारी दिए ।
बाघले बुधबार राति पाटु डाँडाका कृष्णबहादुर मगरको सुँगुरको पाठो तथा बिहीबार राति रुपमाया खड्काको बोका र गर्भवती बाख्रा खोरबाटै लगेर मारेको स्थानीयले बताएका छन् ।
यसअघि बर्दिबास–५ को वरडाँडा बस्तीमा पनि बाघले प्रेमबहादुर थिङको लैनो गाई र वृजबहादुर थिङको बाछो मारेको थियो । स्थानीयले मङ्गलबार राति राँको बालेर होहल्ला गरेपछि बाघ पूर्वतर्फ लागेको जनाइएको छ ।
बाघको गतिविधि बढेसँगै स्थानीयवासी खेतबारी तथा गाउँ वरपर हिँडडुल गर्नसमेत डराउन थालेका छन् । बस्तीमा बाघको प्रवेश रोक्न र सुरक्षा व्यवस्था मिलाउन स्थानीयले वन कार्यालय तथा सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
यसैबीच चुरे क्षेत्रका सामुदायिक वन उपभोक्ता समिति तथा वनसम्बद्ध कार्यालयहरूले साँझपख अनावश्यक हिँडडुल नगर्न, बस्ती वरपर सतर्क रहन तथा घरपालुवा पशुहरूलाई सुरक्षित रूपमा गोठ वा खोरमा राख्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।