काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही क्षेत्रमा तातो हावा (हिटवेभ) चल्ने सम्भावना रहेको जनाएको छ ।
विभागले सार्वजनिक गरेको दैनिक मौसम पूर्वानुमानअनुसार गण्डकी र बागमती प्रदेशका तराई भूभागमा तापक्रम बढ्ने अनुमान गरिएको छ । यद्यपि देशका विभिन्न पहाडी तथा हिमाली जिल्लामा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
पूर्वानुमानअनुसार पोखरा, काठमाडौँ, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङलगायतका क्षेत्रमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ ।
विभागका अनुसार काठमाडौँ उपत्यकामा आज दिउँसो तथा राति मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना ४० प्रतिशत रहेको छ । उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।
यता धनगढीमा अधिकतम तापक्रम ३८ देखि ४० डिग्री सेल्सियस तथा नेपालगञ्जमा ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने विभागको प्रक्षेपण छ। वीरगञ्ज, भैरहवा र घोराहीमा पनि अत्यधिक गर्मी र चर्को घाम रहने जनाइएको छ ।
विभागले तातो लहरको प्रभाव पर्ने क्षेत्रका नागरिकलाई अत्यावश्यक कामबाहेक दिउँसोको समयमा घाममा लामो समय नबस्न, प्रशस्त पानी पिउन तथा स्वास्थ्य सुरक्षाका आवश्यक उपाय अपनाउन आग्रह गरेको छ ।