सप्तरी । असारको पहिलो साता सुरु भएसँगै सप्तरीका किसानहरू धान रोपाइँमा व्यस्त भएका छन् । लामो समयदेखि खडेरीको समस्या झेल्दै आएका किसानहरू दुई दिन लगातार परेको वर्षापछि खेतमा धान रोप्न जुटेका हुन् ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ का किसान रामकिसुन यादवका अनुसार यस वर्ष समयमै वर्षा भएपछि धान रोप्न सहज भएको छ । विगतका वर्षहरूमा आकाशे पानीको प्रतीक्षा गर्नुपर्दा रोपाइँ ढिलो हुने गरेको भए पनि यसपटक सुरुमै पानी परेकाले खेत तयारी गरिसकेका किसानलाई लाभ पुगेको उनले बताए ।
यस्तै, अग्निसाइर कृष्णासवरण गाउँपालिका–सीतापुरका किसान राजेन्द्र चौधरीले वर्षासँगै किसानहरूलाई धान रोप्न भ्याइनभ्याइ भएको बताए । समयमै रोपाइँ सम्पन्न भए जिल्लामा धान उत्पादन बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ।
कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख रोशन मेहताका अनुसार यस वर्ष किसानहरूले मन्सुली, सोना मन्सुली, सुखा तिल, राधा–१२, अगहनीलगायतका धानका जात रोपिरहेका छन् । असार सुरु भएसँगै वर्षा भएपछि किसानहरू उत्साहित बनेको उनले बताए ।
उनका अनुसार असारभरि वर्षाको क्रम यस्तै रहे यस वर्ष जिल्लामा धान उत्पादनमा उल्लेखनीय वृद्धि हुने सम्भावना रहेको छ ।
सप्तरीमा कुल ८१ हजार हेक्टर कृषि योग्य जमिन रहेको छ। त्यसमध्ये ६८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । तर कुल धान खेतीयोग्य जमिनमध्ये करिब २३ हजार ८ सय हेक्टर अर्थात् ३२ देखि ३४ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा उपलब्ध रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।