रौतहटको चन्द्रपुर नगरपालिका–६ स्थित सार्वजनिक हाटबजारको अधिकांश जग्गा अतिक्रमणमा परेपछि बजार विस्तारमा समस्या उत्पन्न भएको छ ।
झन्डै पाँच दशकदेखि सञ्चालन हुँदै आएको हाटबजारका लागि छुट्याइएको २९ कट्ठा सार्वजनिक जग्गामध्ये २३ कट्ठा जमिन अतिक्रमणमा परेको छ । हाल करिब ६ कट्ठा क्षेत्रफलमा मात्र हाट सञ्चालन हुँदै आएको छ। पर्याप्त स्थान अभावका कारण व्यापारीहरू सडक र फुटपाथमा पसल राख्न बाध्य भएका छन् । साबिक चन्द्रनिगाहपुर गाउँ विकास समितिका बजार व्यवस्थापक रामबहादुर घलानका अनुसार कित्ता नम्बर १०५ मा रहेको २९ कट्ठा सरकारी जग्गा २०४९ सालमा भूमाफियाको संरक्षणमा व्यक्तिगत नाममा पास गरिएको थियो ।
उनका अनुसार उक्त जग्गा १७ वर्षपछि गाउँ विकास समितिको पहलमा पुनः सरकारी स्वामित्वमा फर्काइएको थियो । त्यसबेला हाटबजार क्षेत्रमा बसोबास गरिरहेका ३० जना व्यापारीमध्ये १५ जनालाई वैकल्पिक स्थानमा व्यवस्थापन गरिए पनि बाँकी अतिक्रमणकारीलाई हालसम्म हटाउन नसकिएको उनले बताए । अतिक्रमित क्षेत्रमा अहिले ठूला आवासीय तथा व्यापारिक पक्की भवन निर्माण भइसकेका छन्। बजार क्षेत्र साँघुरिँदै गएपछि व्यापारीहरू सडक र फुटपाथमै व्यापार गर्न बाध्य भएका छन् ।
सोमबार र शुक्रबार लाग्ने साप्ताहिक हाटका दिन सवारीसाधन आवागमनसमेत प्रभावित हुने गरेको स्थानीयवासीको गुनासो छ । सार्वजनिक जग्गा अतिक्रमणमा पर्दासमेत नगरपालिका प्रभावकारी रूपमा सक्रिय हुन नसकेको उनीहरूको आरोप छ । वडा नम्बर ६ का अध्यक्ष सहदेव केसीले जिल्लाकै ठूलो स्थानीय हाटबजार मानिने उक्त बजारको अतिक्रमित क्षेत्र खाली गराउन सके बजार व्यवस्थित र विस्तार गर्न सकिने बताए ।
उनका अनुसार कार्यपालिकाको निर्णयअनुसार पालिकाभित्रका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन ३५ दिने सूचना जारी गरिएको थियो । तर सूचना अवधि समाप्त हुँदासमेत अतिक्रमणकारीले जग्गा खाली नगरेका कारण समस्या जटिल बनेको छ । चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले मौसम प्रतिकूलताका कारण तत्काल अतिक्रमित क्षेत्र खाली गराउन कठिनाइ भएको बताए । उनले वास्तविक सुकुम्बासी भए पुनर्वासको व्यवस्था गरी स्थानान्तरण गरिने र हुकुम्बासी भए कानुनी प्रक्रियाअनुसार बलपूर्वक हटाइने बताए।
नगर प्रमुख काफ्लेका अनुसार अतिक्रमणको अवस्था अध्ययन तथा छानबिन गर्न समिति गठन भइसकेको छ र त्यसको प्रतिवेदनका आधारमा आवश्यक प्रक्रिया अघि बढाइनेछ ।