जीतपुर–बकुलिया क्षेत्रका बासिन्दाले लामो समयदेखि प्रतीक्षामा रहेको शुद्ध खानेपानी सेवा अब छिट्टै घरघरमै पाउने भएका छन् । वर्षौंअघि निर्माण सम्पन्न भए पनि विभिन्न कारणले सञ्चालनमा आउन नसकेको बकुलिया खानेपानी आयोजना अन्ततः उपभोक्तासम्म पानी पुर्याउने अन्तिम तयारीमा पुगेको हो ।
भवानीपुर–जीतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले घरधुरीमा धारा जडानका लागि आवेदन संकलन प्रक्रिया सुरु गर्न लागेको जनाएको छ । संस्थाका अध्यक्ष हरेराम कामीद्वारा जारी सूचनाअनुसार सेवा लिन इच्छुक उपभोक्तालाई आवश्यक कागजातसहित संस्थाको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
स्थानीय बासिन्दालाई सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब तीन दशकअघि निर्माण गरिएको बकुलिया खानेपानी ट्याङ्की विभिन्न प्राविधिक तथा प्रशासनिक जटिलताका कारण सञ्चालनमा आउन सकेको थिएन । पटक–पटकका प्रयासपछि पनि आयोजना कार्यान्वयन हुन नसक्दा स्थानीयवासीले अपेक्षित सुविधा पाउनबाट वञ्चित हुँदै आएका थिए ।
हाल भने वितरण सञ्जाल विस्तारको अधिकांश काम सम्पन्न भइसकेको र आयोजना सञ्चालनको अन्तिम चरणमा पुगेको जनाइएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका अनुसार नगर प्रमुख राजन पौडेलले आयोजनाको नियमित अनुगमन गर्दै समयमै काम सम्पन्न गर्न सम्बन्धित निकायलाई सक्रिय बनाउँदै आएका छन् ।
खानेपानी वितरणका क्रममा पाइपलाइन विस्तार गर्नुपर्ने क्षेत्रमा सडक, पुल तथा अन्य संरचनासम्बन्धी प्राविधिक समस्याका कारण केही समय काम प्रभावित भएको थियो । अनुमति प्रक्रिया, सडक कटान तथा संरचना व्यवस्थापनसम्बन्धी विषयले समेत आयोजनामा ढिलाइ भएको बताइन्छ । यद्यपि पछिल्लो समय वितरण प्रणाली विस्तारको कामलाई तीव्रता दिइएको छ ।
संस्थाका पदाधिकारीका अनुसार मुख्य पाइपलाइन जडानको काम लगभग सम्पन्न भइसकेको छ भने अब घरधुरीमा धारा जडानको कार्य अघि बढाइनेछ । प्रारम्भिक चरणमा जीतपुर र बकुलिया क्षेत्रका सयौं परिवारलाई खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
यसैबीच, उपमहानगरपालिकाका पूर्वाधार शाखा प्रमुख इन्जिनियर अभयकान्त झाले खानेपानी संस्थाको कार्यालय व्यवस्थापनलाई समेत सुधार गर्ने काम भइरहेको जानकारी दिए । कार्यालयको उचित व्यवस्थापन नहुँदा धारा जडानका लागि आउने सेवाग्राहीले कार्यालय बन्द रहेको ठानेर फर्किनुपर्ने अवस्था देखिएकाले त्यसको समाधानका लागि आवश्यक व्यवस्थापन भइरहेको उनले बताए ।
लामो समयदेखि प्रतिक्षामा रहेको आयोजना सञ्चालनको तयारी अन्तिम चरणमा पुगेपछि स्थानीयवासी उत्साहित बनेका छन् । नियमित तथा स्वच्छ खानेपानी उपलब्ध भएसँगै दैनिक जीवन सहज हुने र पानीजन्य रोगको जोखिम समेत घट्ने अपेक्षा गरिएको छ । आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि जीतपुर–बकुलिया क्षेत्रको सुरक्षित खानेपानीसम्बन्धी दशकौं पुरानो आवश्यकता पूरा हुने विश्वास गरिएको छ ।