मधेश प्रदेशमा सडक दुर्घटनाको सङ्ख्या वर्षेनि बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।
सवारीसाधनको बढ्दो चाप, तीव्र सहरीकरण, सडक सञ्जाल विस्तार तथा ट्राफिक नियमको कमजोर पालना सडक सुरक्षाका प्रमुख चुनौती बनेका छन् । मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म प्रदेशभर २९ हजार १८३ सडक दुर्घटना भएका छन् । ती दुर्घटनामा २ हजार ७४८ जनाले ज्यान गुमाएका छन् भने १० हजार ८६६ जना गम्भीर र ३६ हजार ४४२ जना सामान्य घाइते भएका छन् । तथ्याङ्कअनुसार प्रदेशमा औसत रूपमा दैनिक करिब १२ वटा सडक दुर्घटना हुने गरेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा दुर्घटनाको सङ्ख्या २३ प्रतिशतले बढेको छ। आव २०८१/८२ मा ७ हजार ४८३ दुर्घटना हुँदा आव २०८०/८१ मा ६ हजार ५८ दुर्घटना भएका थिए ।
जिल्लागत रूपमा धनुषामा सबैभन्दा बढी ४ हजार ८६८ दुर्घटना भएका छन्, जसमा ४२८ जनाको मृत्यु भएको छ । त्यसपछि बारा, सर्लाही, सप्तरी, सिराहा, रौतहट र महोत्तरी रहेका छन्। पर्सामा भने पाँच वर्षमा २ हजार ३५ दुर्घटना हुँदा २०८ जनाको मृत्यु भएको तथ्याङ्क छ । सडक दुर्घटनामा संलग्न सवारीसाधनमध्ये मोटरसाइकल सबैभन्दा अगाडि रहेको छ । पछिल्लो पाँच वर्षमा मोटरसाइकल संलग्न २८ हजार २७ दुर्घटना भएका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओम अधिकारीले जनसङ्ख्या वृद्धि, सवारीसाधन विस्तार र सडक प्रयोगकर्ताको बढ्दो सङ्ख्याले ट्राफिक व्यवस्थापनलाई थप जटिल बनाएको बताउनुभएको छ । उहाँले दुर्घटना न्यूनीकरणका लागि सरकार, स्थानीय तह र नागरिक सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो ।
नेपाल सडक सुरक्षा कार्ययोजनाअनुसार सन् २०३० सम्म सडक दुर्घटना ५० प्रतिशतले घटाउने तथा सन् २०५० सम्म सडक दुर्घटनाबाट हुने मृत्युदर शून्यमा झार्ने लक्ष्य राखिएको छ ।