तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेका बेला जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई गर्मीबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा (लु) चल्ने सम्भावना रहेको छ । साथै बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा पनि तापक्रम बढ्ने पूर्वानुमान गरिएको छ ।
विभागले सार्वजनिक गरेको पूर्वानुमानअनुसार धनगढीमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुग्ने सम्भावना छ भने नेपालगञ्ज र भैरहवामा तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ । यस्तै, वीरेन्द्रनगर र घोराही क्षेत्रमा पनि तापक्रम उल्लेखनीय रूपमा बढ्ने विभागले जनाएको छ । प्रवक्ता पोखरेलले अत्यधिक गर्मीका कारण स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक दिउँसोको समयमा घरबाहिर ननिस्कन, प्रशस्त पानी पिउन तथा स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन सर्वसाधारणलाई अनुरोध गर्नुभयो ।
विभागले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूलाई उच्च तापक्रमबाट बढी जोखिम हुन सक्ने भएकाले थप सतर्कता अपनाउन आग्रह गरेको छ ।