अविरल वर्षाका कारण पर्साका विभिन्न सडक अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । बाढीले पर्सा सदरमुकाम जोड्ने विभिन्न ५ वटा सडकहरू बन्द भएको जनाएको छ ।
- सडक अवरुद्ध हुनेमा पर्सागढी नगरपालिका वडा नं. ९ स्थित तिलावे खोलाले एकटाङ्गाबाट मनवातर्फ आउने बाटो बन्द भएको छ ।
- त्यसैगरी जिराभवानी गाउँपालिका वडा नं. १ को ओरिया खोलामा पानीको सतह बढ्दा महादेवपट्टीबाट सेढवा जाने बाटो अवरुद्ध भएको छ ।
- त्यसैगरी पटेर्वा सुगौली ४ मा रहेको भलुही खोलामा पानीको बहाव बढेकाले पटेर्वा सुगौलीबाट शंकरसरैयातर्फ जाने बाटो अवरुद्ध भएको हो ।
- त्यसैगरी पटेर्वासुगौली वडा नम्बर २ को भलुही खोलामा पानीको सतह बढ्न गई रंगपुरबाट मनवातर्फ आउने बाटो बन्द भएको हो ।
- त्यसैगरी वीरगंज महानगरपालिका वडा नम्बर ३० स्थित लालपर्सा जाने भित्री बाटोमा समेत पानी जमेर सडक अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
पर्सामा विभिन्न बाटोहरू अवरुद्धसँगै पकहामैनपुर गाउँपालिका वडा नम्बर ४ खेस्राहा बस्ने बिहारी राउतको घर पानीले गर्दा भत्किएको छ उनी सहित आश्रित पाँचजनालाई उद्धार गरी व्यवस्थापन गरिने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।