पर्साको ठोरी गाउँपालिका–३ स्थित शिकारीबासमा पाँच दिनदेखि जंगली हात्तीको आतंक बढेपछि स्थानीय किसान चिन्तित बनेका छन् ।
पाकेर भित्र्याउने तयारीमा रहेको चैते धानबाली हात्तीको बथानले लगातार नष्ट गर्न थालेपछि किसानहरू समस्यामा परेका हुन् । स्थानीय बमभोला महतो थारुका अनुसार रातिको समयमा ९ देखि १२ वटासम्मको हात्तीको बथान गाउँ नजिकका खेतमा प्रवेश गरी धानबाली सखाप पारिरहेको छ । ‘दुःख गरेर हुर्काएको धान भित्र्याउने बेला भएको छ, तर हात्तीले केही क्षणमै सबै नष्ट गरिदिन्छ,’ उनले भने ।
हात्तीको आक्रमणबाट बिगा चौधरी, दिलिप गौरो, सञ्जय चौधरीलगायत किसानको करिब दुई कठ्ठा क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भइसकेको छ । यस्तै किसान बिनोद यादवको असारे धानको बेर्ना पनि हात्तीले नष्ट गरेको स्थानीयले बताएका छन् । अर्का किसान दुखा महतोले वन्यजन्तुको आतंकका कारण हरेक वर्ष खेतीपाती जोगाउन कठिन हुने गरेको बताए । उनका अनुसार धान पाक्ने समयमा हात्तीको बथान गाउँ पस्ने गर्छ भने अन्य समयमा बदेल, चित्तल र बाँदरले बालीमा क्षति पुर्याउने गरेका छन् ।
‘अनेक दुःख गरेर लगाएको बाली आधा पनि जोगिँदैन,’ उनले भने, ‘वन्यजन्तुको आक्रमणले किसानलाई वर्षेनि ठूलो नोक्सानी बेहोर्नुपरेको छ ।’ चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्रमा रहेको शिकारीबासका ५२ घरधुरी मुख्य रूपमा कृषि पेशामा निर्भर छन् । तर वन्यजन्तुको नियमित आक्रमणका कारण यहाँका किसानले उत्पादनमा ठूलो क्षति व्यहोर्दै आएका छन् ।
पूर्वाधार विकासका हिसाबले समेत पछाडि परेको यस गाउँमा पुग्न वीरगन्ज–ठोरी हुलाकी सडकबाट करिब सात किलोमिटर जंगलको बाटो पार गर्नुपर्छ । गाउँसम्म पुग्ने सडक शिकारीबास खोलामार्फत जाने भएकाले वर्षायाममा आवतजावतसमेत प्रभावित हुने गरेको छ ।
शिक्षा र स्वास्थ्य सेवाको अवस्था पनि कमजोर रहेको स्थानीयको गुनासो छ । गाउँमा पाँच कक्षासम्म मात्र पढाइ हुने विद्यालय रहेको र त्यसपछिको अध्ययनका लागि विद्यार्थीले दैनिक करिब २४ किलोमिटर साइकल यात्रा गर्नुपर्ने बाध्यता छ । स्वास्थ्य चौकी भए पनि नियमित स्वास्थ्यकर्मी तथा औषधिको अभावका कारण सामान्य उपचारका लागि समेत बाहिर जानुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् ।
स्थानीयवासीले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्न प्रभावकारी संरक्षण कार्यक्रम सञ्चालन गर्न, बाली सुरक्षाका उपाय अवलम्बन गर्न तथा पीडित किसानलाई राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन् ।