सप्तरी | जिल्ला प्रशासन कार्यालय सप्तरीले मोहरम पर्वका अवसरमा हातहतियार तथा लाठीको प्रदर्शन नगर्न आग्रह गर्दै कानुनविपरीतका गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले बुधबार सूचना जारी गर्दै मोहरम पर्व सभ्य, मर्यादित र शान्तिपूर्ण वातावरणमा मनाउन सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूलाई आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवद्वारा जारी सूचनामा मोहरम मनाउने क्रममा सार्वजनिक सडक तथा सार्वजनिक स्थानमा हातहतियार प्रदर्शन नगर्न, सवारी आवागमनमा अवरोध सिर्जना नगर्न तथा होहल्ला र अन्य अवाञ्छित गतिविधि नगर्न अनुरोध गरिएको छ ।
प्रशासनले धार्मिक सद्भाव, सामाजिक सदाचार तथा सार्वजनिक शान्ति–सुरक्षा कायम राख्दै पर्वलाई हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेको छ ।
सूचनामा चाडपर्वको नाममा कानुनविपरीतका गतिविधि, हातहतियार प्रदर्शन वा सार्वजनिक शान्ति भंग हुने कुनै पनि कार्य गरे–गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
मुस्लिम समुदायमा मोहरम पर्वका अवसरमा पुस्तान्तरणको परम्पराअनुसार घरेलु हातहतियार तथा लाठी प्रदर्शन गर्ने प्रचलन रहँदै आएको छ । यद्यपि पछिल्लो समय लागूऔषध तथा मादक पदार्थ सेवन गरी गरिने उच्छृङ्खल गतिविधिका कारण दुर्घटनाका घटना बढ्न थालेपछि प्रशासनले कडाइ गरेको हुन सक्ने मुस्लिम समुदायका एक अगुवाले बताएका छन् ।
प्रशासनले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई सहयोग गर्न समेत आग्रह गरेको छ ।