धनुषाको बटेश्वर गाउँपालिकामा युवाहरूको नेतृत्व क्षमता, सञ्चार सीप तथा नागरिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘उडान बटेश्वर युवा कार्यक्रम २०८३’ सञ्चालन हुने भएको छ ।
बटेश्वर युवा सञ्जालको आयोजनामा सञ्चालन हुने उक्त कार्यक्रममा १६ देखि ३० वर्ष उमेर समूहका एसईई उत्तीर्ण युवाहरू सहभागी हुन सक्ने आयोजकले जनाएको छ । दुई दिने कार्यक्रममा नेतृत्व विकास, सञ्चार सीप, संघीयता तथा स्थानीय शासन, मतदाता अधिकार, युवा सहभागिता, लेखन कला लगायतका विषयमा विज्ञ प्रशिक्षकहरूद्वारा प्रशिक्षण प्रदान गरिनेछ । कार्यक्रम सम्पन्न भएपछि सहभागी युवाहरूले तीन महिनासम्म विभिन्न सामुदायिक गतिविधिमा सक्रिय सहभागिता जनाउने व्यवस्था गरिएको छ ।
आयोजकका अनुसार कार्यक्रम २०८३ साल असार २० र २१ गते सञ्चालन हुनेछ। युवाहरूलाई सक्षम, सचेत र जिम्मेवार नेतृत्वका रूपमा विकास गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन । करिब ५० भन्दा बढी युवाको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ। बटेश्वर युवा सञ्जालले इच्छुक युवाहरूलाई आवेदन दिन आग्रह गरेको छ ।
बटेश्वर युवा सञ्जालका संयोजक सरोजकुमार महतोले युवाहरूलाई नेतृत्व, सीप र नागरिक चेतनासँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको बताउँदै यसले युवाहरूलाई सिक्ने, नेतृत्व गर्ने तथा समुदायमा सकारात्मक परिवर्तनका लागि सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
उनले बटेश्वरका युवाहरूलाई कार्यक्रममा सहभागी भई अवसरको सदुपयोग गर्न आग्रह समेत गरेका छन् ।