देशभर हालसम्म करिब एक लाख ३७ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ ।
कृषि विभागका अनुसार यो कुल धान खेतीयोग्य क्षेत्रफलको करिब १० प्रतिशत हो । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको यही अवधिको तुलनामा धान रोपाइँ ०.४ प्रतिशतले वृद्धि भएको छ । नेपालमा वार्षिक रूपमा करिब १३ लाख ८१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
यही असार ८ गतेसम्मको विवरणअनुसार सबैभन्दा बढी कर्णाली प्रदेशमा २२.८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ भने बागमती प्रदेशमा २.३ प्रतिशत रोपाइँ भएको छ । मधेश प्रदेशमा भने करिब ५ प्रतिशत मात्रै रोपाइँ भएको कृषि विभागले जनाएको छ ।
धान उत्पादन तथा खेतीयोग्य क्षेत्रफलका हिसाबले तराई क्षेत्रलाई सबैभन्दा उपयुक्त मानिन्छ । कुल धान उत्पादनमध्ये करिब ७० प्रतिशत योगदान तराई क्षेत्रबाट हुने गरेको छ भने बाँकी ३० प्रतिशत उत्पादन पहाडी क्षेत्रबाट हुने गरेको छ ।
कृषि विभागका महानिर्देशक प्रकाशकुमार संजेलका अनुसार मनसुन केही ढिलो सक्रिय भएका कारण देशका अधिकांश क्षेत्रमा रोपाइँका लागि आवश्यक वर्षा हुन सकेको छैन । पर्याप्त वर्षा नहुँदा धेरै स्थानमा किसानहरू रोपाइँको प्रतीक्षामा रहेका छन् ।
मौसमको प्रतिकूलता, प्राकृतिक विपद्, अतिवृष्टि तथा अनावृष्टिका साथै मलको अभावजस्ता समस्याका कारण पनि कतिपय क्षेत्रमा धान रोपाइँ ढिलो हुने गरेको विभागले जनाएको छ ।
कृषि सूचना केन्द्रले कृषि उत्पादन वृद्धि गर्न आधुनिक ज्ञान, सीप तथा प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै किसानलाई मनसुनको अवस्था र कृषि गतिविधिसम्बन्धी नियमित जानकारी प्रदान गर्दै आएको जनाएको छ ।