जापानमा गत जेठ १७ गते निधन भएकी जीतपुरसिमरा उपमहानगरपालिका–१९ निवासी २० वर्षीया सचिता चौधरीको बिहीबार २६औँ दिनमा अन्तिम संस्कार गरिएको छ ।
जापानबाट नेपाल ल्याइएको उनको शव गाउँमा धार्मिक विधिअनुसार अन्तिम संस्कार गरिएको हो । चौधरीको शव बुधबार जीतपुरसिमरा उपमहानगरपालिका–१९ स्थित ठूलो मटेरियामा रहेको निवासमा ल्याइएको थियो । उनी नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीकी उपसचिव अलौपिया चौधरी र सुशील चौधरीकी छोरी हुन् । अन्तिम संस्कारअघि नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी दिवंगत चौधरीप्रति श्रद्धासुमन अर्पण गरेको थियो । कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
उच्च शिक्षाका लागि जापान गएकी चौधरीको हृदयघातका कारण निधन भएको परिवारले जनाएको छ । फेसन डिजाइनरसमेत रहेकी उनी जापानको ओसाका हस्पिटालिटी एकेडेमीमा अध्ययनरत थिइन् । उनको शव नेपाल ल्याउन आर्थिक समस्या भएपछि जापान तथा नेपालमा सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो ।
सहयोगदाताहरूको सहयोगबाट शव स्वदेश ल्याउन सम्भव भएको परिवारले जनाएको छ ।