विश्वप्रसिद्ध आध्यात्मिक संस्था आर्ट अफ लिभिङद्वारा सञ्चालित चारदिने ‘ह्याप्पिनेस कार्यक्रम’ बुधबारदेखि वीरगञ्जमा सुरु भएको छ ।
कार्यक्रमको सहजीकरण आर्ट अफ लिभिङका प्रशिक्षक चन्देश्वरप्रसाद साहले गरिरहेका छन् । आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य सहभागीहरूलाई तनावमुक्त, खुशी तथा सन्तुलित जीवन जिउने कला सिकाउनु हो ।
कार्यक्रमअन्तर्गत सहभागीहरूलाई विशेष श्वासप्रश्वास विधि, ध्यान, योग तथा जीवन व्यवस्थापनसम्बन्धी विभिन्न व्यावहारिक उपायहरूको प्रशिक्षण प्रदान गरिनेछ । बढ्दो तनाव, क्रोध, डर, चिन्ता तथा मानसिक दबाबका कारण प्रभावित भइरहेको वर्तमान जीवनशैलीलाई सहज र सकारात्मक बनाउन कार्यक्रम उपयोगी हुने विश्वास आयोजकको छ । आयोजकका अनुसार कार्यक्रमबाट सहभागीहरूले तनाव तथा क्रोध नियन्त्रण गर्न, डर, चिन्ता र नकारात्मक भावनाबाट मुक्ति पाउन, अनिद्रा तथा मानसिक अशान्तिमा सुधार ल्याउन, आत्मविश्वास अभिवृद्धि गर्न तथा सकारात्मक सोचको विकास गर्न मद्दत प्राप्त गर्नेछन् ।
त्यसैगरी स्वस्थ, खुशी र ऊर्जावान् जीवनशैली अपनाउन कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ। ‘तनावमुक्त मन, स्वस्थ शरीर र खुशी जीवनतर्फको एक सार्थक कदम’ भन्ने सन्देशका साथ आर्ट अफ लिभिङले उक्त विशेष कार्यक्रम आयोजना गरेको हो ।