औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगंजले औषधि ऐनविपरीत सञ्चालन भएका ५ सय ६७ वटा फार्मेसी पसलको दर्ता खारेज गरेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि जेठ मसान्तसम्म गरिएको अनुगमन तथा निरीक्षणका क्रममा कानुनविपरीत गतिविधि गरेको पाइएपछि ती फार्मेसीको दर्ता खारेज गरिएको कार्यालय प्रमुख शम्भु शाहले जानकारी दिए । पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, मकवानपुर, चितवन र सिन्धुली जिल्लामा औषधि व्यवसायको नियमन तथा अनुगमन गर्दै आएको कार्यालयले दर्ताबिनै सञ्चालनमा रहेका १३ अस्पताल र ४८ फार्मेसीसहित ६१ स्वास्थ्य संस्था तथा व्यवसाय फेला पारेको छ । ती संस्थालाई कानुनी प्रक्रियाअनुसार कारबाही तथा जरिवाना गरिएको जनाइएको छ ।
अनुगमनका क्रममा १० थोक औषधि विक्रेता, २० अस्पताल र ९८ औषधि पसल गरी १ सय २८ स्थानमा इजाजतपत्र प्राप्त व्यक्तिको सट्टा अन्य व्यक्तिले व्यवसाय सञ्चालन गरिरहेको भेटिएको सूचना अधिकारी रजिना श्रेष्ठले बताइन् । यस्तै, चार थोक औषधि पसल, ११ अस्पताल र ४३ औषधि पसल गरी ५८ स्थानमा नेपालमा सूचीकृत नभएका औषधि बिक्रीवितरण भइरहेको पाइएको छ । ती औषधि जफत गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।
शाखा कार्यालयमा हालसम्म ७७१ औषधि पसल दर्ता भएका छन् भने दुई हजार १ सय ९२ पसलको नवीकरण गरिएको छ । निरीक्षणका क्रममा ३३ प्रकारका लागुऔषध तथा मनोद्दीपक औषधि, १३ प्रकारका उचित तापक्रममा नराखिएका खोप, १२ प्रकारका म्याद नाघेका औषधि तथा १२ प्रकारका ‘फिजिसियन स्याम्पल’ औषधि फेला परेका छन् ।
कानुन तथा मापदण्ड उल्लङ्घन गर्ने तीन थोक औषधि पसल, १२ अस्पताल र ६२ औषधि पसल गरी ७७ संस्थालाई निलम्बन गरिएको छ । साथै ३५ अस्पताल र ३२ औषधि पसल बन्द गरिएको फार्मेसी निरीक्षक रवि चौधरी थारुले जानकारी दिए । उनका अनुसार औषधि बिक्रीवितरणसम्बन्धी मापदण्ड उल्लङ्घनका ५५ उजुरीमध्ये ३९ वटा फर्स्योट भइसकेका छन् । तीन मुद्दा अदालतमा विचाराधीन छन् भने थप आठ मुद्दा दर्ता प्रक्रियामा रहेका छन् ।
गत आर्थिक वर्षको तुलनामा यस वर्ष अनुगमन र कारबाही दुवै बढेको विभागले जनाएको छ । गत वर्ष १ सय ८९ फार्मेसीको दर्ता खारेज गरिएको थियो भने ३ सय ७७ नयाँ दर्ता र दुई हजार ५ सय ४ नवीकरण भएका थिए ।