कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित नेपाली सेनाको गोरङ्गे ब्यारेकमा ग्रेनेड विस्फोट हुँदा एक सैनिक जवानको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विस्फोटमा कञ्चनपुरका ३७ वर्षीय सैनिक जवान हिमाल विक्रम विष्टको मृत्यु भएको हो । घटनामा कैलालीका सहसेनानी हिमराज जैसी गम्भीर घाइते भएका छन् ।
घाइते जैसीलाई प्रारम्भिक उपचारका लागि लम्कीस्थित लालरत्न अस्पतालमा लगिएको थियो । अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ब्यारेकभित्र नियमित सैन्य गतिविधिका क्रममा अचानक ग्रेनेड विस्फोट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।