वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा दुई खर्ब २१ अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले चालु आर्थिक वर्षका लागि दुई खर्ब ४९ अर्ब १९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको भए पनि जेठ मसान्तसम्म लक्ष्यको ८९ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सफल भएको हो ।वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा भएको राजस्व सङ्कलन उत्साहजनक रहेको छ । उनका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष नौ प्रतिशत अर्थात् १७ अर्ब ९७ करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ ।
गत आर्थिक वर्षको पहिलो ११ महिनामा कार्यालयले दुई खर्ब तीन अर्ब ८१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । भन्सार विभागले भने कार्यालयलाई चालु आर्थिक वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।
कार्यालयका अनुसार साउन महिनामा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७४ करोड, असोजमा १९ अर्ब ९ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड, मङ्सिरमा २० अर्ब ८० करोड, पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड, चैतमा २२ अर्ब ८२ करोड, वैशाखमा २१ अर्ब ७४ करोड तथा जेठमा २२ अर्ब ३२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा वीरगंज नाका हुँदै आठ खर्ब ९० अर्ब सात करोड रुपैयाँ बराबरका वस्तु तथा सामग्री आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा सात खर्ब ७० अर्ब रुपैयाँ बराबरका वस्तु आयात भएका थिए ।
त्यसैगरी चालु आर्थिक वर्षको ११ महिनामा वीरगंज नाका हुँदै ९९ अर्ब ६६ करोड रुपैयाँ बराबरका वस्तु तथा सामग्री निर्यात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ९६ अर्ब ७२ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका थिए ।
आयात तथा निर्यात दुवैमा वृद्धि भएसँगै वीरगञ्ज नाकाले मुलुकको राजस्व सङ्कलन र वैदेशिक व्यापारमा महत्वपूर्ण योगदान पुर्याइरहेको कार्यालयले जनाएको छ ।