सिरहाको मिर्चैया नगरपालिका–८ भगवतपुरमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
बुधबार राति करिब साढे ११ बजे अत्यधिक गतिमा आएको बागमती प्रदेश ०१–०२५ च ८९७१ नम्बरको विद्युतीय (इभी) कार अनियन्त्रित भई स्थानीय ५० वर्षीय गुनाई ठाकुरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरीका अनुसार गर्मीका कारण घरअगाडि पोल नजिकै कुर्सीमा बसेका ठाकुरलाई कारले ठक्कर दिएपछि पोलमा ठोक्किँदै नालामा खसेको थियो । घटनापछि स्थानीयवासीले घाइते ठाकुरलाई एम्बुलेन्समार्फत अस्पताल पठाउने तयारी गरिरहेका बेला अर्को पिकअप गाडीले उद्धारमा खटिएका स्थानीयलाई समेत ठक्कर दिएको थियो । त्यसपछि पिकअप चालक कार चालकलाई लिएर घटनास्थलबाट फरार भएको बताइएको छ ।
दोस्रो दुर्घटनामा स्थानीय ३९ वर्षीय रामपुकार ठाकुर, ३२ वर्षीया सुभली कुमारी यादव, १० वर्षीय एक बालक, ६ वर्षीय अर्का बालक तथा अन्य केही स्थानीय घाइते भएका छन् । गम्भीर घाइते गुनाई ठाकुरलाई उपचारका लागि विराटनगर लगिँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये रामपुकार ठाकुरको काठमाडौंस्थित एक अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेहरूको मिर्चैयास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दुर्घटनामा संलग्न कारलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ भने पिकअप गाडीलाई बिहीबार बिहान मिर्चैया–७ स्थित छघरेबाट बरामद गरेको छ । गाडीहरूबाट कपडा, कागजात तथा मदिरासमेत फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार घटनामा संलग्न भनिएका मिर्चैया–७ का रामकुमार यादव र मिर्चैया–८ का मनोज झासहित अन्य व्यक्तिको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ ।