सर्लाहीको गोडैता नगरपालिकामा १५ शय्या क्षमताको नगर अस्पताल भवन बुधबार उद्घाटन गरिएको छ ।
गोडैता नगरपालिका–३ सिमरा भगवतीपुरमा निर्माण सम्पन्न भएको अस्पताल भवन निर्माण व्यवसायीले नगरपालिकालाई हस्तान्तरण गरेपछि औपचारिक रूपमा उद्घाटन गरिएको हो । अस्पताल भवनको उद्घाटन गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्रकुमार यादवले गरेका हुन् । नगरप्रमुख यादवले अस्पतालमा आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी नियुक्त गरी स्थानीयवासीलाई सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताए । उनका अनुसार अस्पताल सञ्चालनमा आएपछि स्थानीय नागरिकले आधारभूत तथा आवश्यक स्वास्थ्य सेवा आफ्नै क्षेत्रमा प्राप्त गर्नेछन् ।
नगरपालिकाका अनुसार अस्पताल भवन न्यू ड्रागन निर्माण सेवा प्रालि, काभ्रेले २० करोड ६६ लाख ७६ हजार १ सय १७ रुपैयाँ ७५ पैसाको लागतमा निर्माण सम्पन्न गरेको हो । नवनिर्मित अस्पताल भवन निर्माण कम्पनीका प्रतिनिधि उत्तम सुवेदीले नगरप्रमुख यादव तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमबहादुर कार्कीलाई हस्तान्तरण गरेका थिए । भारतीय सीमासँग नजिक रहेको सिमरा भगवतीपुर क्षेत्रमा अस्पताल भवन निर्माण भएपछि स्थानीयवासी उत्साहित भएका छन् । उनीहरूले अस्पतालमा शीघ्र चिकित्सक तथा स्वास्थ्यकर्मी नियुक्त गरी नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न माग गरेका छन् ।
हाल यस क्षेत्रका बासिन्दा सामान्यदेखि जटिल उपचारका लागि भारतीय बजारका स्वास्थ्य संस्था वा सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालसम्म पुग्न बाध्य छन् । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रमोद पण्डितका अनुसार तत्कालका लागि सिमरा भगवतीपुर स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई नगर अस्पतालमा स्थानान्तरण गरी आधारभूत स्वास्थ्य सेवा सञ्चालन गरिएको छ ।
अस्पतालमा आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी नियुक्तिका लागि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा आवश्यक व्यवस्था गरिएको उनले जानकारी दिए।