धनुषाका तीन स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि निर्धारित समयभित्र नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्न नसकेको पाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका, कमला नगरपालिका र विदेह नगरपालिकाले समयमै नगरसभा सम्पन्न गर्न नसक्दा बजेट तथा नीति–कार्यक्रम प्रस्तुत हुन सकेको छैन । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले नगरसभा निर्धारित समयमा हुन नसक्नुको ठोस कारणबारे आफूलाई पूर्ण जानकारी नभएको बताउँदै नगरप्रमुख जिल्ला बाहिर रहेकाले नगरसभा प्रभावित भएको जानकारी दिए ।
त्यसैगरी विदेह नगरपालिकाका प्रमुख बेचन दासले आर्थिक वर्ष २०८१/८२ को हिसाब–किताब फर्छ्योट हुन नसक्दा नगरसभा सम्पन्न गर्न कठिनाइ भएको बताए । उनका अनुसार जेन–जी आन्दोलनका क्रममा नगरपालिकाको कार्यालयमा आगजनी भएपछि प्रशासनिक प्रक्रिया प्रभावित भएको थियो । आवश्यक कागजात प्रमाणीकरण हुन नसक्दा नगरसभा निर्धारित समयमा आयोजना गर्न नसकिएको उनले बताए । कमला नगरपालिकाका प्रमुख विशेश्वर यादवले पनि तोकिएको समयमा नगरसभा सम्पन्न गर्न नसकिएको स्वीकार गर्दै वडा बैठक सम्पन्न भएपछि नगरसभाको नयाँ मिति तय गरिने जानकारी दिए ।
धनुषामा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिकासहित कुल १८ स्थानीय तह रहेका छन् । तीमध्ये १५ स्थानीय तहले भने निर्धारित समयभित्र नगरसभा सम्पन्न गरी आगामी आर्थिक वर्षको बजेट पारित गरिसकेका छन् । समयमै बजेट ल्याउने स्थानीय तहहरूमा गणेशमान चारनाथ नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मिनियाँ गाउँपालिका, नगराइन नगरपालिका, औरही गाउँपालिका, क्षिरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, मिथिला नगरपालिका, सबैला नगरपालिका, शहीदनगर नगरपालिका, जनकनन्दिनी गाउँपालिका, मिथिला बिहारी नगरपालिका, मुखियापट्टी मुसहरनियाँ गाउँपालिका, हंसपुर नगरपालिका र धनौजी गाउँपालिका रहेका छन् ।
नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक गाउँपालिका तथा नगरपालिकाले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट गाउँसभा वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ। साथै, बजेट पेस भएको १५ दिनभित्र बहुमतबाट पारित गर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।