सामाजिक सञ्जालमार्फत एक युवतीको चरित्रहत्या गर्दै अश्लील फोटो तथा भिडिओ सार्वजनिक गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहटका स्थायी बासिन्दा तथा हाल काठमाडौं बस्दै आएका १९ वर्षीय विज्ञान शर्मा तिमल्सिना रहेका छन्। उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले बुधबार पक्राउ गरेको हो । साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार तिमल्सिनाले सम्बन्धमा रहँदा खिचिएका युवतीका निजी तथा अश्लील फोटो–भिडिओ प्रयोग गरी ब्ल्याकमेल गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार सम्बन्ध विच्छेद भएपछि आरोपितले युवतीलाई विभिन्न माध्यमबाट भेट्न दबाब दिँदै आएका थिए। युवतीले नमानेपछि उनले ती फोटो तथा भिडिओ टेलिग्राम र डिस्कर्ड च्यानलमार्फत सार्वजनिक गरेको आरोप लागेको छ । निजी फोटो तथा भिडिओ सामाजिक सञ्जालमा ‘काण्ड’का रूपमा व्यापक रूपमा फैलिन थालेपछि पीडित युवती मानसिक तनावमा परेकी थिइन् । त्यसपछि उनले साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।
उजुरीपछि गरिएको प्राविधिक अनुसन्धान तथा डिजिटल विश्लेषणका क्रममा तिमल्सिनाको संलग्नता पुष्टि भएपछि उनलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ । प्रहरी उपरीक्षक गिरीका अनुसार आरोपितमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत थप अनुसन्धान भइरहेको छ ।
यसका लागि काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद अनुमति समेत प्राप्त गरिएको उनले जानकारी दिए ।