बारा जिल्लाका सबै १६ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् ।
कानुनी व्यवस्थाअनुसार असार १० गतेभित्र नगरसभा तथा गाउँसभा सम्पन्न गर्दै सबै पालिकाले आगामी आर्थिक वर्षका लागि विकास र सेवा प्रवाहको मार्गचित्र प्रस्तुत गरेका हुन् । जिल्लाका दुई उपमहानगरपालिकामध्ये जीतपुरसिमरा उपमहानगरपालिकाले सबैभन्दा ठूलो बजेट ल्याएको छ। उपमहानगरले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८७ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । त्यस्तै, कलैया उपमहानगरपालिकाले १ अर्ब ६७ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकातर्फ निजगढ नगरपालिकाले १ अर्ब १० करोड रुपैयाँको बजेट ल्याउँदै जिल्लाका नगरपालिकामध्ये सबैभन्दा ठूलो बजेट प्रस्तुत गरेको छ । महागढीमाई नगरपालिकाले ७२ करोड ८२ लाख ३५ हजार रुपैयाँ, कोल्हवी नगरपालिकाले ७१ करोड ६६ लाख १९ हजार रुपैयाँ, सिम्रौनगढ नगरपालिकाले ६१ करोड ६३ लाख ८० हजार रुपैयाँ तथा पचरौता नगरपालिकाले ६१ करोड ४१ लाख ३१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।
गाउँपालिकातर्फ करैयामाई गाउँपालिकाले ४५ करोड ६८ लाख ४० हजार रुपैयाँको बजेट ल्याएको छ । सुवर्ण गाउँपालिकाले ४३ करोड २६ लाख ७९ हजार रुपैयाँ, आदर्शकोतवाल गाउँपालिकाले ४१ करोड ३३ लाख ६३ हजार रुपैयाँ तथा प्रसौनी गाउँपालिकाले ४१ करोड ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।
त्यसैगरी, बारागढी गाउँपालिकाले ३९ करोड ७७ लाख ६५ हजार रुपैयाँ, देवताल गाउँपालिकाले ३९ करोड ७० लाख ३१ हजार रुपैयाँ, फेटा गाउँपालिकाले ३९ करोड १६ लाख ९७ हजार रुपैयाँ, परवानीपुर गाउँपालिकाले ३६ करोड ६३ लाख १० हजार रुपैयाँ तथा विश्रामपुर गाउँपालिकाले ३५ करोड ५१ लाख ३० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् ।
पालिकाहरूले कृषि आधुनिकीकरण, शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार, सडक तथा अन्य पूर्वाधार निर्माण, रोजगारी सिर्जना, सामाजिक सुरक्षा तथा सुशासनलाई आगामी आर्थिक वर्षका प्रमुख प्राथमिकताका रूपमा समेटेका छन् । स्थानीय आवश्यकता र जनअपेक्षालाई आधार बनाएर विकास योजनाको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धतासहित सबै पालिकाले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।