पर्साको ठोरी गाउँपालिका–४ विजयबस्तीस्थित एक घरबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक मिलन विकको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार साँझ करिब ५ बजे छापा मार्दा प्लास्टिकका बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा करिब १५८ किलो गाँजा बरामद गरेको हो ।
प्रहरीका अनुसार बरामद गरिएको गाँजा गम्भीरबहादुर श्रेष्ठको घरबाट फेला परेको हो । घटनास्थलबाट घरधनीकी पत्नी अस्मिता तामाङलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार बरामद गाँजा र पक्राउ परेकी तामाङमाथि थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ ।
स्थानीय स्रोतका अनुसार पक्राउ परेकी अस्मिता तामाङका दुई साना बालबालिका रहेका छन्। उनीहरूलाई तत्कालका लागि ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठको रोहबरमा राखिएको बताइएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त गाँजा मकवानपुर जिल्लामा उत्पादन भई भरियामार्फत ठोरी क्षेत्रमा ल्याइएको र त्यहाँबाट भारततर्फ तस्करी गर्ने तयारी गरिएको हुन सक्ने प्रहरीको आशंका छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।