सप्तरीस्थित कारागार कार्यालयमा क्षमताभन्दा झण्डै तीन गुणा बढी कैदीबन्दी राखिँदा आवास, स्वास्थ्य, सरसफाइ तथा दैनिक व्यवस्थापनमा गम्भीर चुनौती देखिएको छ ।
अत्यधिक भीडका कारण कैदीबन्दीले सुत्न र बस्नसमेत पर्याप्त ठाउँ नपाउने अवस्था रहेको कारागार प्रशासनले जनाएको छ । कारागार कार्यालय सप्तरीका कारागार प्रशासक रूपक मण्डलका अनुसार उक्त कारागारको क्षमता महिला १० र पुरुष ११५ गरी जम्मा १२५ जना कैदीबन्दी राख्ने हो । तर हाल कारागारमा ३४२ पुरुष र २५ महिला गरी कुल ३६७ जना कैदीबन्दी रहेका छन्, जुन निर्धारित क्षमताभन्दा २४२ जना बढी हो ।
कारागारको तथ्यांकअनुसार गत जेठ महिनाको सुरुआतमा ३७० जना कैदीबन्दी रहेका थिए । सोही महिनामा २३ जना नयाँ कैदीबन्दी थपिँदा २७ जना रिहा भएका छन् ।
चालु असार महिनाको विवरणअनुसार स्वदेशी कैदीतर्फ २०५ पुरुष र सात महिला तथा बन्दीतर्फ १२५ पुरुष र १७ महिला गरी कुल ३५४ जना रहेका छन् । विदेशीतर्फ चार जना पुरुष कैदी र छ जना बन्दी गरी १० जना रहेका छन् । यस्तै, कारागारमा रहेका कैदीबन्दीका आश्रित तीन बालबालिका—दुई बालक र एक बालिका—समेत रहेका छन् ।
कारागारमा रहेका अधिकांश कैदीबन्दी कर्तव्य ज्यान, जबरजस्ती करणी, लागूऔषध, चोरी, सवारी ज्यान तथा अन्य फौजदारी मुद्दामा सजाय भोगिरहेका वा पुर्पक्षका लागि थुनामा रहेका छन् ।
कारागार ब्लक ‘ए’का मुख्य नायक कामेश्वर यादवका अनुसार क्षमताभन्दा अत्यधिक कैदीबन्दी हुँदा उनीहरूको आवास व्यवस्थापन, स्वास्थ्य सेवा, सरसफाइ तथा दैनिक व्यवस्थापनमा ठूलो कठिनाइ भइरहेको छ ।