नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश र वीरगंज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आगामी असार २१ गते वीरगंजमा ‘रोजगार मेला–२०८३’ आयोजना हुने भएको छ।
आयोजकले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत यस वर्षको रोजगार मेला परम्परागत मेलाभन्दा फरक ढंगले सञ्चालन गरिने जनाएको छ । मधेश प्रदेशको स्किल निड एसेसमेन्ट तथा श्रम बजार विश्लेषणका आधारमा रोजगारदाता र रोजगार खोज्ने युवाबीच रहेको सीपको खाडल कम गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको हो।
पत्रकार सम्मेलनमा बोल्दै वीरगंज उद्योग वाणिज्य संघका अध्यक्षले बेरोजगारी देशको प्रमुख समस्यामध्ये एक रहेको उल्लेख गर्दै युवालाई रोजगारीका अवसरसँग जोड्न रोजगार मेला प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रम संयोजक तथा संघका सहसचिव अनुप अग्रवालले मेलामार्फत रोजगारदाता संस्था, रोजगार खोज्ने व्यक्ति, तालिम प्रदायक संस्था तथा रोजगार सेवा केन्द्रलाई एउटै थलोमा ल्याई रोजगारीका अवसर विस्तार गरिने जानकारी दिए।
मेलामा विभिन्न कम्पनी तथा संस्थामा रहेका रिक्त पदबारे जानकारी, रोजगारका लागि आवेदन दर्ता, उम्मेदवार छनोट, करियर परामर्श, रोजगार मिलान सेवा तथा आवश्यकताअनुसार सीपमूलक तालिमका लागि सिफारिससमेत गरिने आयोजकले जनाएको छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालको रोजगार सेवा केन्द्रको सहयोग तथा वीरगञ्ज महानगरपालिका, लिडरशिप डेभलपमेन्ट इन्स्टिच्युट र एचआर सोसाइटी नेपाल–मधेश च्याप्टरको सहकार्यमा आयोजना हुने मेलामा सहभागी रोजगारदाता संस्था, उपलब्ध रोजगारीका अवसर तथा दर्ता प्रक्रियासम्बन्धी विस्तृत विवरण निकट भविष्यमा सार्वजनिक गरिने आयोजकले जनाएको छ।