बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशका घटनामा वृद्धि हुँदै गएको छ ।
एक साताभित्रै अर्को एक बालिकाको सर्पदंशबाट मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१४ मौलापुरकी पाँच वर्षीया दियान्सी रानामगरको विषालु सर्पले डसेपछि बिहीबार राति मृत्यु भएको हो ।
परिवारका अनुसार दियान्सी राति करिब ८ बजे घरको पिँढीमा बसिरहेका बेला सर्पले डसेको थियो । सर्पदंशपछि तत्काल उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको परिवारले जनाएको छ। उनको शव राति नै घर ल्याइएको थियो । जीतपुरसिमरा–१४ स्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दीपेन्द्र साहले घटनाबारे जानकारी प्राप्त भएको पुष्टि गरेका छन् ।
दियान्सी स्थानीय कृष्णबहादुर रानामगर र दीपिका रानामगरकी छोरी हुन् । उनी जीतपुरसिमरा–१४ स्थित साना किसान शिक्षा सदनमा एलकेजी कक्षामा अध्ययनरत थिइन् । उनको असामयिक निधनप्रति शोक व्यक्त गर्दै जीतपुरसिमराका निजी विद्यालयहरूले शुक्रबार शोक बिदा दिएका छन् । यस घटनासँगै जीतपुरसिमरा क्षेत्रमा सर्पदंशको जोखिम बढ्दै गएको देखिएको छ । एक साताभित्रै सर्पदंशबाट दुई बालिकाले ज्यान गुमाएका छन् । यसअघि असार ८ गते जीतपुरसिमरा–१५ डुमरवानास्थित डाँडाटोलकी चार वर्षीया सुप्रिना दोङको पनि सर्पदंशका कारण मृत्यु भएको थियो ।
लगातार सर्पदंशका घटना बढ्न थालेपछि स्थानीयवासीले जनचेतना अभिवृद्धि, विषालु सर्पको जोखिम न्यूनीकरण तथा प्रभावकारी उपचार सेवाको व्यवस्था गर्न स्थानीय प्रशासन र स्वास्थ्य निकायसँग माग गरेका छन् ।