बाराको कलैया उपमहानगरपालिका–२६ मा जीविकोपार्जन सुधार तथा व्यावसायिक पशुपालन प्रवर्द्धन गर्ने उद्देश्यले १ सय ४० जना किसानलाई भैंसी वितरण गरिएको छ ।
राष्ट्रिय योजना आयोगको आर्थिक सहयोग तथा कलैया उपमहानगरपालिका–२६ को आयोजनामा सञ्चालित ‘जीविकोपार्जन सुधारका लागि व्यावसायिक पशुपालन तथा खोर सुधार कार्यक्रम’ अन्तर्गत शुक्रबार सिस्वामा आयोजित कार्यक्रममा नगर प्रमुख विनोद साहले लाभग्राही किसानलाई भैंसी हस्तान्तरण गरेका हुन् । वडा अध्यक्ष धर्मेन्द्र प्रसाद यादवका अनुसार कार्यक्रमका लागि १ सय ९५ जनाले आवेदन दिएका थिए। आवश्यक मापदण्ड पूरा गरेका १ सय ४० जना किसानलाई मात्र छनोट गरी भैंसी वितरण गरिएको उनले बताए ।
उनका अनुसार पशुपालन गर्ने क्षमता, व्यवस्थित खोर, पराल भण्डारण गर्ने स्थान तथा घरमा पर्याप्त श्रमशक्ति भएका किसानलाई प्राथमिकतामा राखेर लाभग्राही छनोट गरिएको हो । शुक्रबार १ सय २५ वटा भैंसी सम्बन्धित किसानलाई हस्तान्तरण गरिएको छ भने बाँकी १५ वटा भैंसी आगामी दुई दिनभित्र वितरण गरिने वडा अध्यक्ष यादवले जानकारी दिए। उनका अनुसार प्रति भैंसी करिब एक लाख १८ हजार रुपैयाँमा खरिद गरिएको हो । साथै लाभग्राही किसानका खोर सुधारको कामसमेत अघि बढाइएको उनले बताए ।
वितरण गरिएका सबै भैंसीको बीमा गरिएको छ। साथै तीन वर्षसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ । तोकिएको अवधिभित्र भैंसी बिक्री गरेको पाइए कानुनबमोजिम असुलउपर गरिने वडा अध्यक्ष यादवले बताए ।
भैंसी हस्तान्तरण कार्यक्रममा उपप्रमुख रौशन परविन, वडा नं. ४ का अध्यक्ष रामेश्वर प्रसाद यादव, वडा नं. ६ का अध्यक्ष रामबिश्वास ठाकुर लोहार, वडा नं. २७ का अध्यक्ष अशोक तिवारी, शिक्षा शाखा प्रमुख राजीवकुमार यादव, वातावरण शाखा प्रमुख भुलन साह, प्रदीप साह, वडा सदस्य, समाजसेवी तथा स्थानीय किसानहरूको उपस्थिति रहेको थियो ।