नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको नेपालिज यंग इन्टरप्रेनर्स फोरम (NYEF) वीरगंज च्याप्टरको छैटौं वार्षिक साधारणसभा शुक्रबार वीरगंजस्थित होटल सिद्धार्थ दियालोमा सम्पन्न भएको छ।
च्याप्टरका अध्यक्ष विश्वास प्रताप साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम सहभागी थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गौतमले देशको आर्थिक विकास, रोजगारी सिर्जना तथा निजी क्षेत्रको सुदृढीकरणमा युवा उद्यमीहरूको भूमिका महत्वपूर्ण रहेको बताए । उनले नयाँ पुस्ताका उद्यमीलाई नवीन सोच, आधुनिक प्रविधि र व्यावसायिक दक्षतासहित अघि बढ्न आग्रह गर्दै वीरगंज उद्योग वाणिज्य संघले युवा उद्यमशीलता प्रवर्द्धनका हरेक प्रयासमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले अनुभवी व्यवसायी र युवा उद्यमीबीच सहकार्य, ज्ञान आदानप्रदान तथा नेटवर्क विस्तार आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले उद्यमशीलताको वातावरण अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
साधारणसभामा वीरगंज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं वरिष्ठ उद्योगपति गणेश लाठ, मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, बीपीसी कलेजका बासु कर्ण, अर्बिन्द श्रेष्ठ, डा. सुबोध गुप्ता, नेपाल इनोभेटिभ सोसाइटी वीरगंजका अध्यक्ष कमल चौगाई, सुदीप घिमिरे, पंकज अग्रवाल, मानवसेवा आश्रम वीरगंजका संस्थापक देवेश गुप्ता, वरिष्ठ उद्योगपति अशोक वैद्य, राकेश मिश्रा, शम्भु प्रसाद गुप्ता, धिरेन्द्र सिंह, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष माधव राजपाल, तथा अनूप अग्रवाललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन दीप प्रज्वलनबाट गरिएको थियो भने ममता विद्यालयका बालबालिकाले स्वागत नृत्य प्रस्तुत गरेका थिए । च्याप्टरका दोस्रो उपाध्यक्ष मोहित गुप्ताले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
साधारणसभामा च्याप्टरले वर्षभरि सञ्चालन गरेका कार्यक्रम, गतिविधि तथा उपलब्धिसम्बन्धी वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदनमाथि छलफल गर्दै आगामी वर्षका कार्यक्रम, योजना तथा उद्यमशीलता प्रवर्द्धनका नयाँ पहलहरूबारे समीक्षा गरिएको थियो।
यसैबीच, साधारणसभाले चन्दन सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
सदस्यहरूबीच आपसी सहकार्य, अनुभव आदानप्रदान तथा भावी कार्ययोजनाबारे साझा धारणा निर्माण गर्दै युवा उद्यमशीलतालाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको सञ्चालन सूर्यनारायण बिकले गरेका थिए ।