रौतहट प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइएको आशंकामा बेवारिसे अवस्थामा रहेको भारतीय नम्बर प्लेटको स्कोर्पियो गाडी बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।
साथै, विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६ जनालाई पनि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमका अनुसार भारतीय नम्बर प्लेट डब्लु बी ०२ डब्लु १५८७ भएको स्कोर्पियो गाडी गत जेठ ३१ गते साँझ मौलापुरस्थित आईटी चोक नजिक सडक छेउमा बेवारिसे अवस्थामा फेला परेको थियो ।
प्रहरीले गाडीबारे आवश्यक अनुसन्धान तथा सोधपुछ गरे पनि कसैले स्वामित्व दाबी नगरेकाले नियन्त्रणमा लिइएको थियो । करिब २० लाख रुपैयाँ मूल्यांकन गरिएको उक्त स्कोर्पियोलाई शुक्रबार आवश्यक कानुनी कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जनाएको छ ।
यसैबीच, फैसला कार्यान्वयन अभियानअन्तर्गत प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिबाना तोकिएपछि फरार रहेका ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चेक अनादर मुद्दाका माधवनारायण नगरपालिका–५ का दुर्गा सहनी, चन्द्रपुर–१० का राकेश साह र विनोद अर्याल, कुटपिट मुद्दाका राजपुर–१ का रामचन्द्र यादव र रामशंकर यादव तथा जालसाजी मुद्दाका राजदेवी–८ का सुखाडी यादव रहेका छन् ।
प्रहरीले उनीहरूबाट अदालतले तोकेको ३ लाख ४० हजार रुपैयाँ जरिबाना असुल गरी फैसला कार्यान्वयनका लागि शुक्रबार जिल्ला अदालत गौरमा उपस्थित गराएको डीएसपी गौतमले जानकारी दिए ।