खाद्य सुरक्षा र कृषि अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने आलु खेतीमा नेपाल अझै आत्मनिर्भर बन्न सकेको छैन ।
आन्तरिक उत्पादनले माग धान्न नसक्दा हरेक वर्ष भारतलगायत अन्य मुलुकबाट ठूलो परिमाणमा आलु तथा बीउ आलु आयात गर्नुपर्ने अवस्था कायम रहेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय आलु, तरकारी तथा मसलावाली विकास केन्द्रका अनुसार नेपालमा वार्षिक करिब ३९ लाख ७० हजार ३६७ मेट्रिक टन आलुको माग रहेको छ । तर स्वदेशी उत्पादन ३६ लाख ८१ हजार ५१७ मेट्रिक टनमा सीमित हुँदा वार्षिक करिब २ लाख ८८ हजार ८५० मेट्रिक टन आलु अपुग हुने गरेको छ । उक्त अभाव भारतलगायतका मुलुकबाट आयात गरी पूर्ति हुँदै आएको छ ।
मधेश प्रदेश आलु खेतीका लागि उपयुक्त क्षेत्र भए पनि उत्पादकत्वका हिसाबले सबैभन्दा पछाडि रहेको तथ्यांकले देखाएको छ । मधेशमा प्रतिहेक्टर १४.३५ मेट्रिक टन उत्पादन हुने गरेको छ, जुन राष्ट्रिय औसत १६.६९ मेट्रिक टनभन्दा कम हो। बागमती प्रदेशमा भने प्रतिहेक्टर १८.७३ मेट्रिक टन उत्पादन हुने गरेको छ ।
कृषि विज्ञहरूका अनुसार गुणस्तरीय बीउको अभाव, सिँचाइ व्यवस्थापनको कमजोरी, आधुनिक खेती प्रविधिको न्यून प्रयोग तथा रोग–कीराको प्रभावका कारण मधेशमा आलुको उत्पादकत्व कमजोर बनेको हो । प्रदेशमा खपत उच्च भए पनि स्थानीय उत्पादनले माग पूरा गर्न नसक्दा भारतीय आलुमाथिको निर्भरता कायम छ ।
देशभर उत्पादन हुने आलुमध्ये करिब २५ प्रतिशत अर्थात् ८ लाख ८२ हजार मेट्रिक टन आलु भण्डारण तथा ढुवानीका क्रममा नष्ट हुने गरेको छ । यसले बजारमा आपूर्ति घटाउनुका साथै आयातको आवश्यकता अझ बढाएको छ ।
नार्कका अनुसार आलुमा आत्मनिर्भर बन्न हालको १६.६९ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्वलाई कम्तीमा १७.९९ मेट्रिक टनमा पुर्याउनुपर्ने वा थप १७ हजार २९० हेक्टर क्षेत्रफलमा आलु खेती विस्तार गर्नुपर्ने देखिएको छ । केन्द्रका प्रमुख पदमप्रसाद अधिकारीले गुणस्तरीय बीउ उत्पादन तथा वितरण, बीउ प्रतिस्थापन कार्यक्रम, शीतभण्डार विस्तार र आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिए उत्पादन उल्लेख्य रूपमा वृद्धि गर्न सकिने बताए ।
तथ्यांकअनुसार नेपालको उच्च पहाडमा १८ प्रतिशत, मध्य पहाडमा ४२ प्रतिशत र तराईमा ४० प्रतिशत क्षेत्रमा आलु खेती हुने गरेको छ । प्रदेशगत रूपमा कोशी प्रदेश सबैभन्दा बढी १० लाख २२ हजार ९५२ मेट्रिक टन आलु उत्पादन गर्ने प्रदेश हो भने कर्णाली प्रदेशमा उत्पादन सबैभन्दा कम २ लाख १७ हजार ६४५ मेट्रिक टन रहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामै ३ लाख २४ हजार २ सय ९८ मेट्रिक टन आलु तथा बीउ आलु आयात हुँदा ७ अर्ब ८६ करोड ९६ लाख रुपैयाँ विदेशिएको छ ।
कृषि विज्ञहरूले आलु उत्पादनमा आत्मनिर्भरता हासिल गर्न गुणस्तरीय बीउको पहुँच विस्तार, शीतभण्डार निर्माण, रोग–कीरा व्यवस्थापन, आधुनिक प्रविधिको प्रयोग तथा किसानलाई लक्षित बीउ उत्पादन र अनुदान कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।