चालु आर्थिक वर्षको पहिलो ११ महिनामा मधेस प्रदेशमा ७ हजार ३ सय १७ वटा सवारी दुर्घटना हुँदा ४ सय ८५ जनाको मृत्यु भएको छ भने १० हजार ९ सय ५७ जना घाइते भएका छन् ।
प्रादेशिक ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार दुर्घटनाको संख्या उच्च रहे पनि अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा मृतक र घाइतेको संख्या घटेको छ ।
कार्यालयका प्रवक्ता डीएसपी नवराज न्यौपानेका अनुसार अधिकांश दुर्घटना मानवीय लापरबाहीका कारण हुने गरेका छन् । उनका अनुसार जेठ मसान्तसम्म भएका ७ हजार ३ सय १७ दुर्घटनामध्ये ७ हजार २ सय दुर्घटना चालक वा सम्बन्धित पक्षको लापरबाहीकै कारण भएका हुन् । उनले दुर्घटना न्यूनीकरणका लागि चालक, यात्रु तथा सर्वसाधारणमा ट्राफिक सचेतना अभिवृद्धि, ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन तथा नियमित निगरानीलाई थप प्रभावकारी बनाइएको बताए ।
गत आर्थिक वर्षभर मधेस प्रदेशमा ७ हजार ४ सय ४३ सवारी दुर्घटना हुँदा ५ सय ६४ जनाको मृत्यु भएको थियो भने १२ हजार १ सय २३ जना घाइते भएका थिए । चालु आर्थिक वर्षको ११ महिनाको तुलनात्मक अवधिमा मृतकको संख्या ३२ र घाइतेको संख्या १ सय ५५ ले घटेको तथ्यांकले देखाएको छ। यसैबीच, ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि गरिएको कारबाहीबाट उल्लेख्य राजस्व पनि सङ्कलन भएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १ लाख ८ सय ५९ सवारीसाधनमाथि कारबाही गर्दा १० करोड १३ लाख १८ हजार १ सय ५९ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
त्यसैगरी, यातायात व्यवस्था कार्यालयमार्फत ६ सय ३३ सवारीसाधनमाथि कारबाही गर्दा थप १ करोड १२ लाख ४६ हजार ५ सय ९९ रुपैयाँ राजस्व सङ्कलन भएको प्रादेशिक ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।