सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बलानबिहुल गाउँपालिका–३ निवासी ३२ वर्षीय सुभाषकुमार पासमान र २२ वर्षीय धर्मेन्द्र सिंह रहेका छन्। उनीहरूलाई शङ्कास्पद अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार प्रहरी चौकी बेल्हीबाट खटिएको टोलीले टिकुलिया–बेल्ही सडकखण्डस्थित बाँसको टहरो (मचान) मा बसेका उनीहरूलाई शङ्काको आधारमा जाँच गरेको थियो ।
शरीर खानतलासीका क्रममा सुभाषकुमार पासमानको साथबाट ‘८ एमएम’ लेखिएको दुई राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गोलीसहित दुवै जनालाई नियन्त्रणमा लिई खरखजाना (हातहतियार तथा खरखजाना) सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको पनि जानकारी दिएको छ ।