धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ स्थित थापा चोकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल, म्यागजिन र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको विशेष प्रहरी टोलीले गोप्य सूचनाका आधारमा होटलमा छापा मार्दा गैरकानुनी रूपमा राखिएको हतियार बरामद गरेको हो ।
प्रहरीले होटलबाट ‘ईगल र्याप्टर’ लेखिएको काठको बिँड जडान भएको एक थान पेस्तोल, सोही पेस्तोलको एक थान म्यागजिन, ९ एमएम लेखिएको एक थान गोली तथा ७.६५ एमएम लेखिएका तीन थान गोली बरामद गरेको जनाएको छ ।
अवैध हतियारसहित पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ निवासी विजय यादवका २० वर्षीय छोरा अमन यादव र हंसपुर नगरपालिका–६ सोनीगामाका रामएकवाल मुखियाका १८ वर्षीय छोरा सुधिर मुखिया रहेका छन् ।
प्रहरीले बरामद भएका हतियार तथा गोलीसहित दुवै जनालाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।