वीरगंज महानगरपालिकामा सरसफाइ व्यवस्थापनको जिम्मा लिएको निजी कम्पनीका सरसफाइकर्मीहरूले तलब वृद्धिको माग गर्दै आन्दोलन सुरु गरेका छन् ।
आन्दोलनका कारण महानगरको मुख्य बजार क्षेत्रको सरसफाइ सेवा प्रभावित बनेको छ ।
आफ्ना मागप्रति ठेकेदार कम्पनीले बेवास्ता गरेको आरोप लगाउँदै आन्दोलनरत सरसफाइकर्मीहरूले वीरगंजको घण्टाघर चोक तथा वीरगंज महानगरपालिकाको मूल गेट अगाडि फोहोर थुपारेर विरोध प्रदर्शन गरेका छन् । मुख्य चोक र महानगरको प्रवेशद्वारमै फोहोर थुप्रिएपछि सर्वसाधारण तथा सेवाग्राहीलाई असुविधा भएको छ ।
घटनालाई गम्भीर रूपमा लिँदै वीरगंज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले तत्काल सरसफाइको ठेक्का लिएका ठेकेदार शिव गुप्तालाई कार्यालयमा बोलाएर सरसफाइकर्मीहरूले उठाएका मागबारे गम्भीर छलफल गर्न तथा संवादमार्फत यथाशीघ्र समस्या समाधान गर्न निर्देशन दिनुभएको छ ।
कार्यवाहक नगरप्रमुख आलमले सरसफाइकर्मी र ठेकेदार कम्पनीबीचको आन्तरिक विवादका कारण नगरवासीले सास्ती भोग्नुपर्ने अवस्था सिर्जना हुन नहुने बताउनुभयो । उहाँले सहरको नियमित सरसफाइलाई निरन्तर सञ्चालन गर्न महानगरपालिकाले आवश्यक समन्वय र मध्यस्थता गरिरहेको जानकारी दिनुभयो । उहाँले सरसफाइजस्तो अत्यावश्यक सेवामा कुनै पनि बहानामा अवरोध आउन नदिने र सहरको वातावरण स्वच्छ राख्न आवश्यक कानुनी तथा प्रशासनिक कदम चालिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
महानगरपालिकाका अनुसार ठेकेदार कम्पनी र आन्दोलनरत सरसफाइकर्मीबीच वार्ता गराई आइतबार साँझसम्म फोहोर उठाउने वातावरण बनाउन महानगरको टोली सक्रिय रूपमा खटिएको छ ।