जिम्मेवार, विश्वसनीय र व्यावसायिक पत्रकारिताका लागि पत्रकार आचारसंहिता तथा शुद्ध भाषा शैलीको प्रभावकारी प्रयोग अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन् ।
मिडिया काउन्सिल मधेश प्रदेशले आइतबार लहानमा आयोजना गरेको ‘विश्वसनीय, मर्यादित र व्यावसायिक पत्रकारिता प्रवर्द्धनका लागि आचारसंहिता तथा भाषा शैली’ विषयक अभिमुखीकरण कार्यक्रममा वक्ताहरूले पत्रकारिताको गुणस्तर, विश्वसनीयता र सामाजिक उत्तरदायित्व कायम राख्न आचारसंहिताको पूर्ण पालना आवश्यक रहेको धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रम उद्घाटन गर्दै मधेश प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरीले पछिल्लो समय पत्रकारिता मूल्यमान्यता र आचारसंहिताबाट विचलित हुँदै गएको अनुभूति भइरहेको बताउनुभयो। पत्रकार आचारसंहिताको पालना तथा शुद्ध भाषा शैलीको प्रयोगबाट मात्रै पत्रकारिताको गुणस्तर र विश्वसनीयता कायम राख्न सकिने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “बढ्दो मोबाइल पत्रकारितामा प्रयोग हुने भाषा, शब्द र शैलीका कारण समाजमा भ्रम फैलिने प्रवृत्ति बढेको छ । पत्रकारितामा नियमित तालिम, अध्ययन र अभ्यासलाई निरन्तरता दिन सके मात्र यसको विश्वसनीयता र गरिमा कायम रहन्छ ।”
मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष बन्दना झाले पत्रकारहरूको लेखन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रदेशका आठवटै जिल्लामा जिम्मेवार पत्रकारितासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले पत्रकारिताको राम्रो अभ्यास गर्न सकेनौँ भने आगामी पुस्तालाई सही दिशा र दृष्टिकोण दिन सक्दैनौँ । समाचारको विश्वसनीयतामाथि प्रश्न उठाउने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक छ ।”
नेपाल पत्रकार महासङ्घ सिरहा शाखाका अध्यक्ष मनोजकुमार बनैता यादवले सिरहाको पत्रकारितामा भाषा शैली र विश्वसनीयतासम्बन्धी केही चुनौती देखिएकाले यस्ता अभिमुखीकरण कार्यक्रम समयसापेक्ष र उपयोगी भएको बताउनुभयो । उहाँले कार्यक्रम आयोजना गरेको मिडिया काउन्सिल मधेश प्रदेशप्रति आभार व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्षसमेत रहनुभएका प्रशिक्षक धवेन्द्र झाले पत्रकारितामा देखिएका विकृति अन्त्य गर्न जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एकपक्षीय समाचार लेख्ने, विश्वसनीय स्रोतको सट्टा अनुमानका आधारमा समाचार तयार गर्ने, आफूलाई न्यायाधीश ठानेर सामग्री प्रस्तुत गर्ने तथा अनुपयुक्त भाषा शैली प्रयोग गर्ने प्रवृत्तिले पत्रकारिताप्रति समाजको विश्वास घटाउँदै लगेको छ ।”
प्रशिक्षक झाले पत्रकारितामा ‘परेवा र भ्यागुतोको दृष्टिकोण’ अर्थात् समग्र र सूक्ष्म दुवै कोणबाट विषयवस्तुलाई विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँका अनुसार सन्तुलित, तथ्यपरक र विश्वसनीय समाचारले मात्रै पत्रकारिताप्रतिको जनविश्वास बढाउन सक्छ ।
प्रशिक्षणका क्रममा उहाँले दोहोरो अर्थ लाग्ने शब्द प्रयोग नगर्न, भाषा शुद्ध, सरल र सहज बनाउन तथा अनुमानका आधारमा समाचार नलेख्न पत्रकारहरूलाई आग्रह गर्नुभयो। “आँखाले देखेका सबै कुरा सत्य नहुन सक्छन् । त्यसैले प्रमाण र विश्वसनीय स्रोतका आधारमा मात्रै समाचार लेख्नुपर्छ,” उहाँले भन्नुभयो । अभिमुखीकरण कार्यक्रममा सिरहाका करिब चार दर्जन पत्रकारहरूको सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासङ्घ सिरहा शाखाका पूर्वअध्यक्ष दिनेश्वर प्रसाद गुप्ताले यस्ता प्रशिक्षणले नयाँ पत्रकारलाई जिम्मेवार पत्रकारितातर्फ प्रेरित गर्नुका साथै अनुभवी पत्रकारलाई पनि आफ्नो पेशागत दायित्वप्रति थप सचेत बनाउने विश्वास व्यक्त गर्नुभयो ।