नेपालको प्रमुख अन्न भण्डार मानिने मधेश प्रदेशमा यस वर्ष असार १५ गतेसम्म कुल धान रोपाइँ हुने क्षेत्रफलको केवल ४.३६ प्रतिशतमा मात्रै रोपाइँ सम्पन्न भएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशभर धान रोपाइँ हुने कुल ३ लाख ८७ हजार ९३३ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १६ हजार ९११ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ । जिल्लागत विवरणअनुसार महोत्तरीमा सबैभन्दा बढी ८.१७ प्रतिशत धान रोपाइँ भएको छ । त्यसपछि धनुषा र बारामा समान ७ प्रतिशत, सिरहा र सप्तरीमा ५ प्रतिशत तथा सर्लाहीमा २.५ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
यता पर्सा र रौतहटमा भने चैते धान काट्ने काम अझै जारी रहेकाले रोपाइँ सुरु हुन सकेको छैन । यद्यपि हाल मनसुन सक्रिय भई पर्याप्त वर्षा हुन थालेपछि आगामी दिनमा धान रोपाइँले तीव्र गति लिने अपेक्षा किसानहरूले गरेका छन् ।
यसैबीच, मानो रोपेर मुरी फलाउने समयको प्रतीकका रूपमा देशभर आइतबार २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विभिन्न कार्यक्रमका साथ मनाइएको छ । यस वर्ष "जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।
दिवसका अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, प्रदेश सरकार तथा विभिन्न सरकारी एवं गैरसरकारी संस्थाहरूले देशका विभिन्न जिल्लामा सामूहिक धान रोपाइँ, कृषक सम्मान तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरेका थिए । नेपालको कृषि संस्कृति र परम्परासँग जोडिएको असार १५ लाई दही–चिउरा खाने पर्वका रूपमा पनि विशेष महत्त्वका साथ मनाइन्छ ।
खेतमा दिनभर श्रम गर्ने किसानलाई ऊर्जा र शीतलता प्रदान गर्ने विश्वासका साथ दही–चिउरा खाने परम्परा नेपाली समाजमा आजसम्म कायम रहेको छ ।