सामान्य वर्षामै सप्तरीस्थित हुलाकी सडकको एक खण्ड भासिँदा सवारीसाधन सञ्चालन प्रभावित भएको छ ।
दुई दिनअघि परेको वर्षाका कारण ‘रेनकट’ लागेर विष्णुपुर गाउँपालिका–१ को खुरहुरिया टोलपूर्व पुलछेउमा सडक भासिएको हो । उक्त पुल साँघुरो भएकाले यसअघि नै चारपांग्रे सवारीसाधन एकतर्फी रूपमा मात्रै सञ्चालन हुँदै आएका थिए। अहिले पुलको छेउमै सडक भासिएपछि आवागमन थप जोखिमपूर्ण बनेको स्थानीयले बताएका छन् ।
विष्णुपुर गाउँपालिका–१ का वडाध्यक्ष बलराम यादवले सडक भासिँदा दुर्घटनाको जोखिम बढेकाले स्थानीय तहबाट तत्काल मर्मतको तयारी भइरहेको जानकारी दिए ।
‘सडक भासिएपछि दुर्घटनाको जोखिम बढेको छ । स्थानीय स्तरबाट तत्काल मर्मत गर्ने प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘तर जल तथा मौसम विज्ञान विभागले भोलि र पर्सि यस क्षेत्रमा भारी वर्षाको पूर्वानुमान गरेकोले दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायको तत्काल ध्यान जान आवश्यक छ ।’
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका सूचना अधिकारी इन्जिनियर उपेन्द्र दासका अनुसार राजविराजदेखि पश्चिमतर्फको सडक खण्ड चार महिनाअघि नै सडक डिभिजन कार्यालय, लहानलाई हस्तान्तरण गरिसकिएको छ । अब उक्त सडकको मर्मतसम्भार तथा व्यवस्थापनको जिम्मेवारी डिभिजन कार्यालयकै रहेको उनले बताए ।
सडक डिभिजन कार्यालय, लहानका प्रमुख सिडिई ध्रुवकुमार झाले सडकको आपत्कालीन मर्मत ‘इमर्जेन्सी वर्क’ अन्तर्गत सिलबन्दी कोटेसनमार्फत गरिने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार खर्च व्यवस्थापनका लागि न्यूनतम सात दिनको सूचना प्रकाशन गरेर आवश्यक प्रक्रिया अघि बढाइनेछ। रेनकटका कारण क्षति पुगेका स्थानहरूको विवरण कार्यालयले यसअघि नै संकलन गरिसकेको उनले बताए ।
पूर्व–पश्चिम राजमार्गको दक्षिणी क्षेत्रमा भारतीय सीमावर्ती बस्तीलाई राजविराजसँग जोड्ने यो हुलाकी सडक जिल्लाको प्रमुख आवागमन मार्ग हो ।
यस सडकबाट दैनिक हजारौँ सवारीसाधन सञ्चालन हुने भएकाले सडक भासिँदा स्थानीयवासी र यात्रुहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।