सामाजिक सञ्जालमा काठ तस्करी भइरहेको भिडियो भाइरल भएपछि फरार रहेका एक मुख्य अभियुक्तलाई प्रहरीले आठ दिनपछि पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी बढनियारको संयुक्त टोलीले पर्सागढी नगरपालिका–४ परशुरामपुर निवासी २८ वर्षीय मेराजुल देवान (लालबाबू)लाई पक्राउ गरेको हो । गत असार ६ गते सामाजिक सञ्जालमा काठ तस्करी भइरहेको दृश्यसहितको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्दै खोजी अभियान तीव्र बनाएको थियो । अनुसन्धानका क्रममा विभिन्न स्थानमा निगरानी बढाउनुका साथै सम्भावित लुक्ने ठाउँहरूमा समेत खोजतलास गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आइतबार दिउँसो करिब ४ बजे प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा खटिएको संयुक्त टोलीले मेराजुल देवानलाई पक्राउ गरेको हो । पक्राउपछि उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सब–डिभिजन वन कार्यालय सबैयामा बुझाइएको छ ।
प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका देवान यसअघि पनि वनसम्बन्धी तीनवटा मुद्दामा फरार रहेको खुलेको प्रहरीले जनाएको छ । ती मुद्दामा उनी लामो समयदेखि प्रहरी र वन कार्यालयको निगरानीमा रहे पनि पक्राउबाट बच्दै आएका थिए । प्रहरीले काठ तस्करीमा संलग्न अन्य व्यक्तिहरूको पनि पहिचान भइसकेको जनाएको छ । उनीहरूको खोजी अभियान जारी रहेको तथा चाँडै पक्राउ गरिने विश्वास व्यक्त गरिएको छ । घटनामा प्रयोग भएका साधन, काठको स्रोत तथा तस्करी सञ्जालबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वन क्षेत्रबाट अवैध रूपमा काठ चोरी निकासी गर्ने कार्यले प्राकृतिक स्रोत संरक्षणमा गम्भीर चुनौती सिर्जना गर्ने भएकाले यस्ता गतिविधिविरुद्ध कडा कारबाही गरिने प्रहरी र वन कार्यालयले बताएका छन् ।
साथै, यस्ता अवैध गतिविधिबारे सूचना उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गर्दै घटनामा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ ।