वीरगंज महानगरपालिकाका कर्मचारीहरूले लामो समयदेखि रोकिएको बक्यौता तलब पाउन थालेका छन् ।
प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण करिब पाँच महिनादेखि प्रशासनिक तथा आर्थिक काम प्रभावित हुँदा स्थायी कर्मचारीले चार महिनादेखि र अस्थायी तथा करार सेवाका कर्मचारीले पाँच महिनादेखि तलब पाएका थिएनन्। यसै असार महिनामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा वसन्तबहादुर बोहराले कार्यभार सम्हालेपछि रोकिएका आर्थिक प्रक्रिया अघि बढेका हुन् । पहिलो चरणमा स्थायी कर्मचारीलाई चार महिनाको बक्यौता तलब वितरण गरिएको थियो । त्यसपछि अस्थायी तथा करार सेवामा कार्यरत करिब ६ सय कर्मचारीलाई पनि चार महिनाको तलब भुक्तानी गरिएको महानगर स्रोतले जनाएको छ । कर्मचारीहरूका अनुसार अब एक महिनाको तलब मात्रै भुक्तानी हुन बाँकी छ ।
लामो समयसम्म तलब नपाउँदा दैनिक घरखर्च, बैंक ऋण, छोराछोरीको शिक्षा तथा अन्य आधारभूत आवश्यकता पूरा गर्न कठिनाइ भएको कर्मचारीहरूले बताएका छन् । तलब वितरण सुरु भएपछि कर्मचारीमा केही राहत महसुस भएको छ । यता, पोखरिया नगरपालिकाका कर्मचारीहरूको अवस्था भने अझै जटिल रहेको छ । आर्थिक सङ्कटका कारण नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि दुई महिनाको तलब वितरण गरिएको भए पनि स्थायी तथा करार सेवाका कर्मचारीको अझै आठ महिनाको तलब भुक्तानी हुन बाँकी रहेको कर्मचारीहरूले बताएका छन् ।
यसैबीच, नगरप्रमुख प्रद्युम्न चौहानको कार्यकालमा कति कर्मचारी नियुक्त गरिएका हुन् र उनीहरूको कति महिनाको तलब बाँकी छ भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन । यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक–पटक नगरपालिकामा छापा मारेर विभिन्न कागजात नियन्त्रणमा लिए पनि अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन । अनुसन्धान प्रक्रिया लामो समयसम्म टुंगोमा नपुग्दा नगरपालिकाको प्रशासनिक तथा आर्थिक बेथिति कायमै रहेको स्थानीयवासीको गुनासो छ । हालसम्म यकिन भएका करिब साढे तीन सय कर्मचारीको आठ महिनादेखिको तलब भुक्तानी हुन बाँकी रहेको बताइएको छ ।
कर्मचारीहरूले बाँकी तलब शीघ्र उपलब्ध गराउन तथा नगरपालिकाको वित्तीय अवस्था र कर्मचारी व्यवस्थापनबारे पारदर्शी छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।