डिभिजन वन कार्यालय, पर्साले “समृद्धिका लागि वन परियोजना” अन्तर्गत जिराभवानी गाउँपालिका–८ स्थित ऐलानी पर्ती जग्गामा फेन्सिङ (तारबार) सहित वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
गादीमाई साझेदारी वन उपभोक्ता समिति बसन्तपुर पर्साको आयोजनामा सम्पन्न कार्यक्रमको उद्देश्य खाली तथा ऐलानी जग्गाको संरक्षण गर्दै हरियाली विस्तार, वातावरण संरक्षण तथा सामुदायिक वन व्यवस्थापनलाई थप प्रभावकारी बनाउनु रहेको आयोजकले जनाएको छ । वृक्षारोपण गरिएका बिरुवाको दीर्घकालीन संरक्षण सुनिश्चित गर्न उक्त क्षेत्रमा फेन्सिङ (तारबार) समेत निर्माण गरिएको जानकारी दिइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल रहेका थिए भने विशिष्ट अतिथिका रूपमा पूर्व सांसद जयप्रकाश थारु सहभागी भएका थिए । त्यसैगरी डिभिजन वन कार्यालय, पर्साका प्रमुख (डीएफओ) मञ्जुर अहमद, गादीमाई साझेदारी वन उपभोक्ता समिति पर्साका अध्यक्ष सहरुम राउत गदी , जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरी जगरनाथपुर गाउँपालिकाका वडा ४ कावडाअध्यक्ष सुभाष यादव लगायत स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, वन कार्यालयका कर्मचारी, वन उपभोक्ता समूहका पदाधिकारी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले वन संरक्षण र वृक्षारोपण जलवायु परिवर्तनका चुनौती सामना गर्ने प्रभावकारी उपाय भएको उल्लेख गर्दै रोपिएका बिरुवाको संरक्षणमा स्थानीय समुदायसहित सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए ।