बाराको जीतपुरसिमरा उपमहानगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरू बुधबार (असार १७ गते) बन्द रहने भएका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका–७, जीतपुरस्थित मदरसा इस्लामियाका प्रधानाध्यापक अब्दुल सत्तार अन्सारीको असार १५ गते भएको असामयिक निधनप्रति शोक व्यक्त गर्दै उपमहानगरपालिकाले एक दिन शोक बिदा दिने निर्णय गरेको हो ।
नगर कार्यपालिकाको कार्यालयले मंगलबार सूचना जारी गर्दै दिवंगत अन्सारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादद्वारा हस्ताक्षरित सूचनामा स्वर्गीय अन्सारीले शैक्षिक उत्थान तथा मदरसा शिक्षाको विकासमा पुर्याएको उल्लेखनीय योगदानको सम्मानस्वरूप उपमहानगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा असार १७ गते एक दिन शोक बिदा दिइएको उल्लेख गरिएको छ ।