पर्साको बडनिहार प्रहरी चौकीबाट हतकडीसहित फरार भएका काठ तस्करीका आरोपी पर्सागढी नगरपालिका–४ परशुरामपुर निवासी मेराजुल देवान (लालबाबू) करिब २४ घण्टापछि डिभिजन वन कार्यालय पर्सामा पुगेर आत्मसमर्पण गरेका छन् ।
देवान गत आइतबार साँझ प्रहरी चौकीको सुरक्षा घेरा तोडेर हतकडीसहित फरार भएका थिए । उनको खोजीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा विशेष प्रहरी टोली परिचालन गरिएको थियो । टोलीले उनको घर आसपासका क्षेत्र तथा सम्भावित नाकाहरूमा व्यापक खोजी अभियान सञ्चालन गरेको थियो ।
स्थानीय स्रोतका अनुसार खोजी अभियानका क्रममा प्रहरीले देवानका बुवा अलिआज देवानलाई समेत नियन्त्रणमा लिई छोरा जिम्मा लगाउन दबाब दिएको थियो ।
डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमदका अनुसार देवान सोमबार कार्यालयमा स्वयं उपस्थित भई आत्मसमर्पण गरेका हुन् । आत्मसमर्पणका बेला उनका दुवै हातमा हतकडीका भाग यथावत् रहेको तर बीचको चेन भने काटिएको अवस्थामा रहेको प्रमुख अहमदले जानकारी दिए ।
आत्मसमर्पणपछि देवानलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको सम्बन्धित निकायले जनाएको छ ।