पर्सा जिल्लाभित्र सार्वजनिक स्थानमा राखिएका राष्ट्रिय झन्डाको नियमित हेरचाह, संरक्षण तथा आवश्यक परे नयाँ झन्डा प्रतिस्थापन गर्न जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी परिपत्रमा विभिन्न चोक, पुल, उद्यान तथा अन्य सार्वजनिक स्थलमा राखिएका राष्ट्रिय झन्डा च्यातिएको, रङ उडेको तथा फोहोर अवस्थामा रहेको भन्दै जनस्तरबाट गुनासो प्राप्त भएको उल्लेख गरिएको छ । परिपत्रमा राष्ट्रिय झन्डा राष्ट्रको गौरव, स्वाभिमान र राष्ट्रिय पहिचानको प्रतीक भएकाले यसको सम्मान र मर्यादा कायम राख्नु प्रत्येक नागरिकको संवैधानिक तथा नैतिक दायित्व भएको उल्लेख गरिएको छ। साथै, राष्ट्रिय झन्डा र राष्ट्रिय गान प्रयोग सम्बन्धी कार्यविधि, २०६९ अनुसार सार्वजनिक स्थानमा प्रयोग हुने झन्डा सधैं सफा, दुरुस्त र मर्यादित अवस्थामा राख्नुपर्ने कानुनी व्यवस्था रहेको पनि स्मरण गराइएको छ ।
जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरूलाई सार्वजनिक स्थानमा रहेका राष्ट्रिय झन्डाको तत्काल निरीक्षण गर्न, च्यातिएका, रङ उडेका वा फोहोर भएका झन्डा हटाएर मापदण्डअनुसारका नयाँ झन्डा राख्न निर्देशन दिएको छ । त्यसैगरी, झन्डाको नियमित अनुगमनको व्यवस्था मिलाउन, पुराना तथा मक्किएका झन्डालाई प्रचलित कार्यविधिअनुसार सम्मानपूर्वक विसर्जन गर्न तथा झन्डा राखिएका स्थानको सरसफाइ र सुरक्षाको जिम्मेवारी सम्बन्धित स्थानीय तहले नै सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय झन्डाको गरिमा, सम्मान र मर्यादा कायम राख्न जारी निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न सबै स्थानीय तहसँग आग्रह गरेको छ ।