सिरहाको लहानस्थित एक होटलमा बिक्रीका लागि राखिएको सिलबन्दी प्रशोधित पानीको बोतलभित्र छेपारो भेटिएपछि सम्बन्धित कम्पनीलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।
लहान नगरपालिका–३ स्थित न्यू भान्जा होटलमा बिक्रीका लागि राखिएको ‘ऋषि जल’ ब्रान्डको सिल प्याक पानीको बोतलभित्र छेपारो भेटिएपछि प्रशोधित पानी उत्पादन गर्ने केबी एण्ड सन्स नेपाल कम्पनीलाई इलाका प्रशासन कार्यालय लहानले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।
इलाका प्रशासन कार्यालयका अनुसार गत असार १० गते उपभोक्ताबाट फोनमार्फत गुनासो प्राप्त भएपछि अनुगमन टोली खटाइएको थियो । अनुगमनका क्रममा कम्पनीले अनुचित व्यापारिक तथा व्यवसायजन्य गतिविधि गरेको र मानव स्वास्थ्यमा गम्भीर लापरबाही गरेको पाइएपछि कारबाही गरिएको जनाएको छ ।
प्रशासनका अनुसार उक्त कम्पनीको उत्पादनबारे अन्य गुनासासमेत प्राप्त भइरहेकाले कम्पनी सञ्चालकलाई कार्यालयमा बोलाएर सचेत गराइएको छ । साथै, बजारमा पठाइएका सोही ब्याचका ‘ऋषि जल’ ब्रान्डका सबै पानीका बोतल तत्काल बजारबाट फिर्ता लिन कम्पनीलाई निर्देशन दिइएको प्रशासनले जनाएको छ ।
यस्ता गल्ती पुनः दोहोरिए कानुनबमोजिम थप कडा कारबाही गरिने चेतावनी दिँदै प्रशासनले उपभोक्तालाई उपभोग्य वस्तु खरिद तथा प्रयोग गर्दा सचेत रहन र कुनै त्रुटि वा खराबी भेटिए तत्काल सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ ।