पर्सा प्रहरीले वीरगंजमा साइकलमा आँप बेच्दै हिँडेका एक भारतीय नागरिकको साथबाट ब्राउनसुगर बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार साँझ करिब ६ बजे वीरगंज महानगरपालिका–९ भूत बंगला नजिक आँप बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले निगरानी तथा खानतलासी गरेको थियो । खानतलासीका क्रममा साइकलको पछाडिको चक्कानजिक झुण्ड्याइएको प्लास्टिकको झोलाभित्र कालो प्लास्टिकले बेरेर सेतो प्लास्टिकमा लुकाइ राखिएको अवस्थामा ३० ग्राम ७१० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पहेँलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद लागुऔषधसहित भारतको बिहार राज्य, बेतिया जिल्ला, गोपालपुर ग्राम पञ्चायत–४ निवासी ३० वर्षीय गुड्डु आलमलाई प्रहरीले पक्राउ गरेको छ । उनी हाल वीरगंज महानगरपालिका–८ मा डेरा गरी बस्दै आएका थिए । प्रहरीका अनुसार आलम आँप बिक्रीको आवरणमा लागुऔषध ओसारपसार तथा बिक्री–वितरणमा समेत संलग्न रहेको आशंकामा थप अनुसन्धान भइरहेको छ ।
बरामद पदार्थको परीक्षण तथा घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।