बारा प्रहरीले मोबाइल चोरीको आरोपमा चार जना बालबालिकालाई सार्वजनिक स्थानमा डोरीले बाँधेर कुटपिट गरेको आरोपमा चार महिलालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलबार बिहान करिब ९ बजे जितपुर–सिमरा उपमहानगरपालिका–१६ टांगिया बस्तीस्थित सार्वजनिक चौतारामा चार जना बालबालिकालाई मोबाइल चोरीको आरोप लगाउँदै बरको रुखमा डोरीले बाँधेर कुटपिट गरिएको घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा स्थानीय ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवि कुमारी आले मगर, ३० वर्षीया रानिमाया मोक्तान र ४२ वर्षीया निर्मला वाईलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले उनीहरूमाथि बालबालिकाविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरेको छ ।
बारा जिल्ला अदालत, कलैयाबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो ।